क्लिंकरमा सिण्डिकेट

सिमेन्टको मूल्य किन बढ्यो ?


विराटनगर । क्लिंकर उत्पादन गर्ने ठूला सिमेन्ट उद्योगले क्लिंकर नदिँदा साना उद्योगको अस्तित्व संकटमा परेको छ । जसका कारण अधिकांश ग्राइन्डिङ उद्योगको लगानी डुबेको छ ।

क्लिंकरकै अभावमा अधिकांश साना उद्योगको उत्पादन बन्द भएको छ । साना उद्योगको उत्पादन बन्द हुँदा त्यसको प्रत्यक्ष फाइदा क्लिंकर उत्पादन गर्ने ठूला उद्योगले एक वर्षदेखि लिएर उपभोक्तालाई आर्थिक भार थोपार्दै आएको आरोप लागेको छ ।

क्लिंकर अभावमा अधिकांश साना उद्योगको उत्पादन बन्द भएसँगै बजारमा सिमेन्टको अभाव देखाएर ठूला उद्योगले सिमेन्टको मूल्य वृद्धि गरी उपभोक्तालाई प्रतिबोरा दुई सय रुपैयाँसम्म आर्थिक भार थोपारेको सम्बद्ध उद्योगीको दाबी छ ।

‘ग्राइन्डिङ उद्योगका लागि गत वर्षदेखि नै क्लिंकरमा सिण्डिकेट लागेको हो,’ एक ग्राइन्डिङ उद्योगीले भने, ‘ग्राइन्डिङ उद्योगलाई आवश्यकता अनुसारको क्लिंकर दिन छाडेपछि ठूला उद्योगले सिमेन्ट उत्पादन गर्नुका साथै बजारमा अभाव देखाएर गत वर्षदेखि नै प्रतिबोरा २ सय रुपैयाँ मूल्य बढाए ।’

मुलुकमा क्लिंकर र सिमेन्ट उत्पादन गर्ने करिब २५ वटा उद्योग छन् । क्लिंकर ल्याएर सिमेन्ट मात्र उत्पादन गर्ने उद्योग ५० को हाराहारीमा थिए । ‘ठूला उद्योगले ग्राइन्डिङ उद्योगलाई क्लिंकरमा सिण्डिकेट लगाएर उत्पादन हवात्तै बन्द गराए । अनि बजारमा अभाव देखाएर ६ सय रुपैयाँमा पाइँदै आएको सिमेन्टको दाम ८ सयभन्दा बढी पुर्‍याएर लुट मच्चाए,’ एक उद्योगीले भने ।

दुई दर्जन सिमेन्ट उद्योगले क्लिंकर उत्पादन गर्छन् । ती नै उद्योगले ग्राइन्डिङ उद्योगलाई क्लिंकरमा सिण्डिकेट लगाएर उत्पादन बन्द गराएर आफ्नो उत्पादनको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको आरोप एक उद्योगीले लगाए ।

क्लिंकर ल्याएर सिमेन्ट मात्र उत्पादन गर्ने ५० उद्योग थिए । क्लिंकरमा सिण्डिकेट लागेपछि २५ वटा उद्योग त बन्द नै भइसके । बाँकी २५ उद्योगले पनि क्षमताको २० प्रतिशत मात्र उत्पादन गर्दै आएको ती उद्योगीले बताए ।

चाचन र खेतान समूहको सतना सिमेन्ट उद्योगले पर्याप्त क्लिंकर पाउँदा दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो । क्लिंकरमा सिण्डिकेट लागेपछि गत वर्षदेखि दैनिक दुई हजार बोरा मात्र उत्पादन गर्दै आएको छ ।

त्यसैगरी सुनसरी–मोरङ औद्योगिक क्षेत्रको बन्धन सिमेन्ट उद्योगले दैनिक एक हजार टन सिमेन्ट उत्पादन गर्दै आएकोमा क्लिंकरको सिण्डिकेट लागेसँगै यसबेला दैनिक दुई सय टन मात्र उत्पादन गर्दै आएको छ । उद्योगी मनिष मारुले भने, ‘उद्योगले क्लिंकर नै नपाएपछि उत्पादन बन्द गरेर बस्न बाध्य भइएको छ ।’

क्लिंकरमा सिण्डिकेट लागू भएपछि मुलुकभरिका २५ भन्दा बढी ग्राइन्डिङ सिमेन्ट उद्योग बन्द नै भइसके । मारुले भने, ‘बाँकी रहेका झन्डै २५ वटा उद्योगले पनि क्षमताको २० प्रतिशत मात्र उत्पादन गर्दै आएका छन् ।’

पछिल्लो समय नेपाल सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर छ । भारतबाट क्लिंकर ल्याएर उद्योग सञ्चालन गर्ने स्थिति छैन । ‘नेपालको भन्दा भारतको क्लिंकर प्रतिटन १५ सय जति महँगो पर्छ । त्यस्तो क्लिंकर ल्याएर उद्योग सञ्चालन गर्ने स्थिति नै छैन । भारतबाट क्लिंकर ल्याउँदा सिण्डिकेटवालाहरूले क्लिंकरको भाउ नै घटाएर आफ्नो उत्पादनको भाउ पनि घटाएपछि क्लिंकर आयात गर्ने उद्योग उठ्नै सक्ने स्थिति छैन,’ मारुले भने ।

एकातिर क्लिंकरमा सिण्डिकेट लाग्दा ग्राइन्डिङ उद्योगको उत्पादन बन्द भइरहेको छ भने अर्कातर्फ सरकारले पुँजीगत खर्च गर्न नसक्दा र विकास निर्माणका काम ठप्पप्रायः हुँदा उत्पादित सिमेन्टको पनि बजार माग नहुँदा सिमेन्ट उद्योग धमाधम बन्द हुन थालेका छन् ।

कोशी प्रदेशमा खुलेका १५ वटा सिमेन्ट उद्योग मध्ये यसबेला दर्जन उद्योग बन्द भएका छन् । ती उद्योग खुल्नु अघि बजारमा भारतीय सिमेन्टको एकाधिकार थियो । उद्योग खुलेसँगै भारतीय सिमेन्टको आयात पूर्ण रूपमा बन्द भएको थियो । पछिल्लो समय भारतीय सिमेन्ट र क्लिंकर आयात ठप्प भएको विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठको भनाइ छ ।

कच्चा पदार्थ क्लिंकर आयात गरेर सिमेन्ट उत्पादन गर्ने प्रायः सबै उद्योग बन्द भइसकेका छन् । आफ्नै क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र धनकुटाको निगाले सिमेन्ट उद्योग पनि बन्द भएका छन् । ती उद्योग बन्दसँगै अर्बौं लगानी प्रभावित भएको छ भने पाँच सय बढीले रोजगारी गुमाएको सम्बद्ध उद्योगीको गुनासो छ ।

विकास निर्माणका ठूला योजना सञ्चालन नहुँदा र घर निर्माणसमेत न्यून हुँदा बजारमा सिमेन्टको माग कम छ । त्यसमा पनि क्लिंकरमा सिण्डिकेट लागेपछि क्लिंकर आयात गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योगले आफ्नै क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योगसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा सिमेन्टका सबै ग्राइन्डिङ उद्योग बन्द भएको सिमेन्ट उत्पादक संघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए ।

झापा, सुनसरी, मोरङ, धनकुटा, सिराहा र उदयपुरमा १५ वटा सिमेन्ट उद्योग सञ्चालनमा थिए । तीमध्ये अन्नपूर्ण, निगाले, बन्धन, स्टन, कसमस, जानकी, अल्ट्राटेक मित्तल, उदयपुर लगायतका सिमेन्ट उद्योग बन्द छन् । ‘आफ्नै कच्चा पदार्थ क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योग पनि उत्पादन क्षमताको ५० प्रतिशतमा मात्र सञ्चालनमा छन्,’ राउतले भने ।

मधेश प्रदेशको सिराहासहित कोशीमा यसबेला मारुती, सौर्य र सप्तकोशी सिमेन्ट उद्योग उत्पादन क्षमताको ५० प्रतिशतमा सञ्चालित छन् । उत्पादित सिमेन्टको बजारमा माग नभएको मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी बताउँछन् ।
‘बजारमा माग नै नभएपछि दैनिक ३३ सय टन उत्पादन क्षमता भएको मारुती सिमेन्ट उद्योगले यसवेला उत्पादन क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्दै आएको छ,’ उनले भने, ‘क्लिंकर ल्याएर ग्राइन्डिङ गर्ने प्रायः सबै सिमेन्ट उद्योग बन्द भइसके । आफ्नै क्लिंकर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योगको पनि उत्पादन बिक्री नभएर आधा क्षमतामा चलेका छन्।’

स्थानीय उद्योगले भारतबाट आयात हुने सिमेन्ट र क्लिंकरलाई पूर्ण रूपमा विस्थापित गरेको उनको भनाइ छ । ‘यसबेला विकास निर्माणका योजना सञ्चालन नहुँदा उत्पादन नै बिक्री नभएर स्थानीय उद्योग नै बन्द हुँदा भारतबाट आयात हुने कुरै भएन। यहाँका उद्योगले ओपीसी र पीपीसी दुवै सिमेन्ट उत्पादन गर्दै आएका छन् । ती दुवै उत्पादनको माग बजारमा छैन,’ राठीले भने।

सरकारले पुँजीगत खर्च बढाएर विकास निर्माणले गति लिने र भारत निकासी गर्न पाउने हो भने यहाँ खुलेका सबै सिमेन्ट उद्योग पुनः सञ्चालन हुन सक्ने राठीको भनाइ छ । ‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माण ठप्पप्रायः हुँदा सिमेन्ट संकटमा परे,’ राठीले भने ।