सम्पूर्ण अपडेट

इरान युद्ध चाँडै सकिने ट्रम्पको घोषणापछि तेलको मूल्यमा भारी गिरावट

742
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा जारी युद्ध चाँडै नै समाप्त हुने बताएपछि तेलको मूल्यमा भारी गिरावट आएको छ ।

मध्यपूर्वबाट हुने ऊर्जा आपूर्तिमा द्वन्द्वले लामो समयसम्म अवरोध पुर्याउने डरका कारण सोमबार तेलको मूल्य प्रति ब्यारल झन्डै १२० डलर पुगेको थियो तर ट्रम्पको टिप्पणीपछि यो घटेर ८६ डलर आसपास आएको छ ।

कच्चा तेलको मूल्य अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा उल्लेख्य रूपमा उच्च भए पनि सेयर बजारमा सुधार देखिएको छ र लन्डनको एफटीएसई १०० सूचकांक १.३ प्रतिशतले बढेर खुलेको छ ।

आफूलाई युद्ध लगभग पूरा भएको जस्तो लागेको राष्ट्रपतिले बताए यद्यपि उनले पछि इरानलाई विश्वव्यापी तेल र ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण ढुवानी मार्ग हर्मुज जलयोजक अवरुद्ध नगर्न चेतावनी दिए ।

‘इरानले हर्मुज जलयोजकभित्र तेलको प्रवाह रोक्ने कुनै पनि काम गरेमा उनीहरूलाई अमेरिकाले अहिलेसम्म खाएको प्रहारभन्दा बीस गुणा कडा प्रहार गर्नेछ,’ उनले सामाजिक सञ्जालमा भने ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले ट्रम्पको बकवासको जवाफमा इरानका सशस्त्र बलहरूले यस क्षेत्रबाट एक लिटर तेल पनि निर्यात हुन नदिने बताएको छ ।

यसअघि सोमबार फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले केही दुष्टताबाट छुटकारा पाउन आवश्यक महसुस गरेकाले एउटा सानो भ्रमण गरेका थियौं । मलाई लाग्छ, तपाईंले देख्नुहुनेछ यो छोटो अवधिको भ्रमण हुनेछ ।’

एसियाली कारोबारका क्रममा ब्रेन्ट क्रुड एक समय प्रति ब्यारल ८४ डलरभन्दा तल झरेको थियो र पछि ९३.७६ डलरमा फर्कियो । अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट क्रुड ४ प्रतिशतले घटेर प्रति ब्यारल ९०.९६ डलर पुग्यो ।

ग्यासको मूल्यमा पनि गिरावट आएको छ जसमा बेलायतको आगामी महिनाको डेलिभरी मूल्य १० प्रतिशतभन्दा बढीले घटेर १२३ पेन्स प्रति थर्म पुगेको छ जुन सोमबारको उच्च बिन्दु १७१ पेन्सभन्दा धेरै कम हो ।

मंगलबार तेलको मूल्यमा आएको गिरावटले व्यापारीहरूलाई एक क्षण लामो सास फेर्ने मौका दिएको छ तर ऊर्जा बजार अझै पनि पूर्ण तानातानको स्थितिमा रहेको तेल र ग्यास लगानी कम्पनी इन्टरक्यापिटल इनर्जीका अल्बर्टो बेलोरिनले बताए ।

उनले तेलको कारोबार अत्यन्तै अस्थिर रहने र द्वन्द्व बढ्यो भने मूल्य बढ्ने र कम भयो भने घट्ने सम्भावना रहेको बताए ।
द्वन्द्वको आर्थिक प्रभावबारेको चिन्ता कम भएपछि एसियामा सेयर बजारमा सुधार देखिएको छ ।

जापानको निक्केई २२५ सूचकांक सोमबारको केही घाटा पूर्ति गर्दै २.९ प्रतिशतले बढेर बन्द भयो भने दक्षिण कोरियाको कोस्पी ५.४ प्रतिशतले बढ्यो ।

खाडी क्षेत्रमा हुने अवरोधले उच्च मुद्रास्फीति र बढ्दो ब्याजदर निम्त्याउन सक्ने लगानीकर्ताको चिन्ताका कारण अघिल्लो दिन यस क्षेत्रका सेयर बजारहरूमा ठूलो गिरावट आएको थियो ।

हर्मुज जलयोजक विश्वव्यापी ऊर्जा बजारका लागि महत्त्वपूर्ण छ किनभने विश्वको लगभग पाँच भागको एक भाग तेल यो साँघुरो जलमार्ग भएर जान्छ । तर एक हप्ताभन्दा बढी समयअघि युद्ध सुरु भएदेखि यो साँघुरो मार्ग भएर हुने यातायात लगभग ठप्प छ ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको अरामकोका प्रमुखले यो मार्ग अवरुद्ध भइरहेमा तेल बजारका लागि विनाशकारी परिणाम आउने चेतावनी दिएका छन् ।

अमिन नासेरले तेलको विश्वव्यापी भण्डार पाँच वर्षयताकै न्यून रहेको र आपूर्तिमा अवरोधको अर्थ यसको प्रयोग तीव्र गतिमा हुने बताए ।

‘यो अवरोध जति लामो समयसम्म रहन्छ, विश्वव्यापी अर्थतन्त्रका लागि परिणाम त्यति नै गम्भीर हुनेछ,’ उनले भने ।

एस राजारत्नम स्कुल अफ इन्टरनेशनल स्टडीजका पार्क की ह्युनका अनुसार सोमबारको उच्च बिन्दुबाट तेलको मूल्य घटे पनि यो अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण सुरु गर्नुअघिको तुलनामा अझै करिब २० प्रतिशत बढी छ ।

स्थिति बिग्रन सक्ने कुनै पनि जोखिमलाई ध्यानमा राख्दै कम्पनीहरूले ढुवानीका लागि अतिरिक्त शुल्क (प्रिमियम) लिने भएकाले मूल्यहरू अस्थिर रहने पार्कले बताए ।

ट्रम्पको टिप्पणीले युद्ध छिट्टै समाप्त हुन सक्ने संकेत गरे पनि ती भनाइहरू अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा ठोस परिवर्तन हुन्छ कि हुँदैन भन्ने ठूलो प्रश्न रहेको उनले थपे ।

जी७ राष्ट्रहरूले सोमबार बढ्दो तेलको मूल्यको सन्दर्भमा ऊर्जाको विश्वव्यापी आपूर्तिलाई सम्बोधन गर्न आवश्यक उपायहरू चाल्न तयार रहेको बताए ।

जी७ नेताहरू र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीचको बैठकमा राष्ट्रहरूले आफ्नो भण्डारबाट तेल निकाल्ने कि ननिकाल्ने भन्नेबारे छलफल भए पनि कुनै अन्तिम निर्णय भएन ।

दुबईमा आधारित ऊर्जा परामर्शदाता कम्पनी कमर इनर्जीका प्रमुख कार्यकारी रबिन मिल्सले बीबीसीलाई बताएअनुसार यो विकल्प धेरै चाँडो प्रयोग गर्न हिचकिचाहट थियो किनभने एकपटक रणनीतिक भण्डार समाप्त भएपछि, त्यो सकिन्छ ।

यद्यपि, उनले यो एक कठिन निर्णय भएको स्वीकार गरे । ‘डोनाल्ड ट्रम्पले भनेजस्तै युद्ध समाप्त भएको कुरामा विश्वास गर्ने हो भने तपाईंलाई ती भण्डारहरू प्रयोग गर्न आवश्यक पर्दैन । तर, अवरोध जारी रहने विश्वास गर्नुहुन्छ भने अहिले नै थोरै तेल बजारमा ल्याएर बजारलाई शान्त पार्ने समय हो ।’