सरकारको प्रतिवेदन भन्छ: निजी क्षेत्रमा ३६ अर्बसहित जेनजी आन्दोलनबाट कुल ७८ अर्ब रुपैयाँको क्षति


काठमाडौं । जेनजी आन्दोलनका कारण मुलुकभर कुल ७८ अर्ब रूपैयाँको क्षति भएको निष्कर्ष सरकारी अध्ययन समितिले निकालेको छ । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा बनाएको ५ सदस्यिय समितले क्षतिको मूल्यांकन अन्तिम चरणमा पुर्‍याएको हो ।

समितिले तयार पार्दै गरेको लस एन्ड ड्यामेज एसेसमेन्ट रिपोर्टको प्रारम्भिक नतीजाअनुसार निजी क्षेत्रमा ३६ अर्ब गरी कुल ७८ अर्बको क्षति भएको छ । यो क्षति सरकारले अनुमान गरेको भन्दा निकै कम हो ।

समितिका अनुसार जेनजी आन्दोलनले ७७ मध्ये ५१ जिल्लामा असर परेको छ । ती जिल्लामा १६ सय इकाइका २९ सय भवनमा क्षति पुगेको छ । क्षति भएका संरचनामा संघ, प्रदेश र स्थानीय सरकारका कार्यालयदेखि लिएर निजी आवास, उद्योग, गोदाम र व्यावसायिक भवनसमेत छन् ।

जसमध्ये संगठित निजी क्षेत्रका व्यवसायहरूले २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी गरेका छन् । बीमा दाबी उद्योग, होटल, सवारीसाधन, व्यवसायिक संरचना तथा गोदाममा भएको क्षतिसँग सम्बन्धित छन् ।

यसैगर बीमा नभएका तथा असंगठित वा अनौपचारिक क्षेत्रका व्यवसाय तथा संरचनाहरूमा ८ देखि १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यी क्षेत्रमा बीमा कभरेज नहुँदा पुनर्निर्माणमा सरकारी सहयोग तथा सहुलियत योजनाको आवश्यकता देखिएको छ ।

अर्मन्त्री रामेश्वर खनालले क्षतिको परिमाण अपेक्षाभन्दा कम रहेको बताए । प्रारम्भिक विवरणले देशभर ७८ अर्ब रुपैयाँ बराबरको क्षति भएको देखिएको छ । उनले भने, ‘हामीले धेरै ठूलो क्षति भएको अनुमान गरेका थियौं, पछिल्लो विवरणअनुसार क्षति तुलनात्मक रूपमा कम देखियो ।’

अर्थमन्त्री खनालले अर्थ मन्त्रालयले सम्भावित क्षतिको अनुमान गरेर सुरुदेखि नै स्रोत व्यवस्थापनको तयारी गरेको समेत बताए । ‘सुरुवाती बिन्दुदेखि नै अर्थ मन्त्रालयले आकलन गरेर सही विनियोजनको सिद्धान्त उपयोग गरेर तथा स्रोतको जोहो गर्न सक्छौं भनेर १२० अर्ब रुपैयाँ जोहो गरेका छौं,’ खनालले भने, ‘त्यो रकमलाई सही परिचालन गर्न सक्यौं भने एकै वर्षमा पुननिर्माणको काम गर्न सक्छौं ।’

उनले क्षति धेरै देखिएको भए पनि सरकारी समितिले बनाएको प्रतिवेदनले सरकारसँग उपलब्ध वित्तीय स्पेस, बीमा दाबीको रकम र सरकारी योजनाको संयोजनमार्फत पुनर्निर्माणको खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिने पनि बताए ।

सरकारले निजी क्षेत्रमा ३६ अर्बको भौतिक क्षति भएको तथ्य फेला पारे पनि निजी क्षेत्रले ४८ अर्बको भएको दाबी गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ४८ अर्बको भौतिक क्षति र कुल ८८ अर्बको आर्थिक क्षति परेको बताएका छन् ।

असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिलाई क्षतिको मूल्यांकन र पुनःनिर्माण योजना तयार गर्ने गरी कार्यादेश दिइएको थियो ।

जेनजी प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्यांकन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका थिए । तथ्यांक संकलनमा एकरुपता तथा सहजताका लागि आयोगले क्षति मूल्यांकन सर्वेक्षण पोर्टलसमेत सञ्चालन गरेको थियो भने सम्बन्धित स्थानीय तह तथा प्रदेश र संघका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

साढे २ सयभन्दा बढी पालिका, सबै प्रदेश र संघीय सरकारका विषयगत मन्त्रालय एवं केन्द्रीय निकायलाई युजरनेम र पासवर्ड उपलब्ध गराएर तथ्यांक संकलन गरिएको हो । ती निकायले कात्तिक मसान्तसम्म विवरण प्रविष्ट गरेका हुन् जसका आधारमा समितिले अर्थमन्त्री खनाललाई प्रारम्भिक विवरण उपलब्ध गराएको थियो ।

यस्तै योजना आयोगका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिवको प्रतिनिधित्व रहेनगरी सहजीकरण उपसमिति समेत गठन गरिएको थियो ।