
काठमाडौं । सीजी होल्डिङ्सद्वारा सञ्चालित नेपाल ल्यूब आयलले एकै वर्ष १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब १७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२३ मा ९२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीकाअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले व्यापार बढेको छ । कम्पनीले गत आवमा ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवमा कम्पनीबाट उच्च बिक्री हुँदा व्यापार बढेको उल्लेख छ ।
त्यसैगरी, कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । कम्पनीको सन् २०२४ मा ५ करोड ५० लाख रुपैयाँ कुल नगद सञ्चय थियो । सन् २०२५ मा ६ करोड रुपैयाँ पुगेको छ ।
सन् १९८४ मा स्थापना कम्पनीले विशेषगरी उत्पादन र अटोमोटिभ लुब्रिक्यान्ट, औद्योगिक लुब्रिकक्यान्ट र ट्रान्सफर्मर आयलको व्यापार गर्दै आएको छ । कम्पनीसँग गल्फ आयल इन्टरनेशनलको लाइसेन्स छ भने उत्पादन गरेको लुब्रिक्यान्ट गल्फ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
अरुणकुमार चौधरी अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५१ करोड ८७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया