
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री खनालले अमेरिकालगायतका मुलुकको दृष्टान्त दिँदै राजस्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे । उनले वर्तमान सरकारसँग काम गर्ने समय करिब साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यस बीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताए ।
अर्थमन्त्री खनालले भने, ‘मेरो कार्यकाल अब साढे ३ महिना मात्रै बाँकी छ । फागुन २१ गते निर्वाचन भइसकेपछि त म मन्त्री पदमा रहन्नँ । त्यो भन्दा एक महिना अघि नै निर्वाचन आचार संहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका काम गर्न पाइन्न । त्यो बेलासम्म सुधारका कामहरु गर्नेछु ।’
जब हामी विश्वास निर्माणमा आधारित प्रणाली निर्माण गर्छौं भने त्यस्तो अरु निकाय आवश्यक हुँदैन भन्दै खनालले त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्ने बताएका हुन् ।
अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने बताए । उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि दोहोर्याए ।










प्रतिक्रिया