सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ: ओली

56
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् ।

आइतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले आफू र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताएका हुन् ।

त्यसका लागि जेन–जीहरुलाई संगठित गर्ने, उनीहरुको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरुको हातमा मागपत्र दिने जेनजीहरुलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताए ।

‘अहिले सरकारमा हुनेहरुले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन् र त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्नु, जेनजीहरुको मागपत्र लेखिदिनु, जेनजीहरुलाई बोलाएर मागपत्र पढाउनु, जेनजीहरुका हातमा मागपत्र थमाइदिनु, जेनजीहरुको डेलिगेशन बोलाउने, डेलिगेशन भेट्ने र सञ्चारकर्मीहरुका अगाडि डेलिगेशन आयो, जेनजीहरुले सरकारलाई दबाब दिए लौ के गरौँ भनेर सरकार त दबाबमा छ भन्ने देखाउन आर्टिफिसियल ड्रामा तयार भएको छ,’ ओलीले भने ।

वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गरे । जेन–जीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको उनको भनाइ छ ।

‘जेनजीहरुको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई समेत थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौँ । कला बिहीन नाटक छ । नाटकमा अलिकति कला हुनुपर्छ । कला बिहीन नाटक छ, त्यो हेरिरहेका छौँ,’ उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कला बिहीन नाटक मञ्चन गरिरहेको टिप्पणी गरे ।