नीतीशको साटो आफ्नै नेतालाई मुख्यमन्त्री बनाउला भाजपाले ?

1.2k
Shares

एजेन्सी । बिहारमा सन् २०२५ को विधानसभा निर्वाचन परिणामको रुझानले राजनीतिक समीकरणहरूलाई पूरै बदलिदिएको छ ।

भाजपा ९२ सिटमा अगाडि छ । आफ्ना सहयोगी दलहरूसँग मिलेर पार्टी भारी बहुमततर्फ अघि बढिरहेको छ । रुझान यस्तै रह्यो भने उसलाई बहुमतका लागि आवश्यक १२२ सिट ल्याउन गाह्रो हुने छैन ।

यसैकारण अब प्रश्न उठ्न थालेको छ । के प्रधानमन्त्री नरेन्द्र मोदीले नीतीश कुमारलाई पन्छाएर बिहारमा भाजपाकै मुख्यमन्त्री बनाउनेछन् ?

प्रधानमन्त्री मोदीले केही दिनअघि उपमुख्यमन्त्री सम्राट चौधरीका पक्षमा प्रचार गर्दा उनले चुनाव जिते भने उनलाई ठूलो मान्छे बनाइनेछ भनेका थिए । यसै कथनलाई हेर्दा पनि भाजपालाई पर्याप्त सिट आएमा चौधरीलाई नै मुख्यमन्त्री बनाउने तयारी भइरहेको संकेत पाइन्छ ।

अहिलेसम्मको रुझान अनुसार, एनडीए गठबन्धन २०२ सिटमा अगाडि छ । यसमा भाजपा ९२ र जेडीयू ८२ सिटमा अगाडि छन् । यसले बिहारमा नयाँ राजनीतिक मोड सिर्जना गरेको छ ।

लोक जनशक्ति पार्टी २१ सिटमा, जीतन राम माँझीको हम ५ सिटमा र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चा ४ सिटमा अगाडि छन् । यसरी बीजेपी (९२), एलजेपी (२१), हम (५) र आरएलएम (४) मिलाएर जम्मा १२२ सिट हुन्छ । २४३ सदस्यीय बिहार विधानसभामा बहुमतका लागि त्यो अंक पर्याप्त छ । यसको अर्थ हुन्छ– भाजपाले जेडीयूको सहारा बिना पनि सरकार बनाउन सक्छ ।

अर्कातर्फ, रोचक राजनीतिक विकल्प पनि बन्न सक्ने चर्चा छ । बारम्बार गठबन्धन बदल्ने गरेका कारण ‘पल्टूराम’ भनेर चिनिने नीतीश कुमारलाई मुख्यमन्त्री पद नदिइने भयो भने उनले अर्को बाटो रोज्न सक्छन् । जेडीयूसँग आफैं ८२ सिट हुन सक्छ । उनले विपक्षीसँग हात मिलाउन सक्छन् ।

आरजेडी २६ सिटमा, कांग्रेस ४ सिटमा, र सीपीआई(एम) तथा सीपीआई(एमएल) लिबरेशन एक–एक सिटमा अगाडि छन् । यी सबै जोड्दा ११४ सिट हुन्छ । त्यो बहुमतभन्दा ८ सिट कम हो ।

तर, नीतीश कुमारले ठूलो राजनीतिक दाउ खेल्न सक्छन् । उनी एलजेपीलाई आफ्नो पक्षमा ल्याएर चिराग पासवानलाई उपमुख्यमन्त्री बनाउने प्रस्ताव गर्न सक्छन् । रामविलास पासवानका छोरा चिराग पासवान आफूलाई नीतीशको विकल्पका रूपमा प्रस्तुत गर्दै आएका छन् । उपमुख्यमन्त्री पद पाए उनी गठबन्धनमा आउन सक्ने सम्भावना छ । आरजेडीको कम सीट र तेजस्वी यादव पछाडि परिरहेको तथ्यलाई हेर्दा यो विकल्प व्यावहारिक पनि देखिन्छ ।

दोस्रो विकल्पका रूपमा नीतीशले हम र आरएलएमलाई साथ लिन सक्छन् । यी दुवै दलसँग मिलेर ९ सिट हुन्छ । यी नेताहरूले विगतमा पनि नीतीशसँग काम गरिसकेका छन् र उनीहरूको राजनीतिक सोच पनि उस्तै खालको छ । यस अवस्थामा उनीहरूलाई उपमुख्यमन्त्री बनाइदिनै नपर्ला, राम्रो मन्त्रालय पाए उनीहरू सन्तुष्ट हुनेछन् । कम सिट भएका कारण नीतीशका लागि तिनीहरूलाई व्यवस्थापन गर्न सजिलो पनि पर्छ ।

तर जेडीयूमा फुट आउने सम्भावना पनि छ । नीतीश कुमार आरजेडीसँग नजिनिक खोजे भने भाजपाले जेडीयूमा फुट ल्याउने प्रयास गर्न सक्छ । त्यसैले नीतीशका लागि विकल्प सीमित छन् ।

बिहारको राजनीति अब कुन दिशामा मोडिन्छ ? के भाजपाले आफ्नै बलबुतामा सरकार बनाउँछ ? कि नीतीश कुमारसँग मिलेर शासन चलाउँछ ?

उता नीतीश कुमारले पनि आफ्नो राजनीतिक कौशल देखाउने सुनिश्चित छ ।

यसपटक बिहारका जनताले दिएको जनादेशले राजनीतिक विश्लेषकहरूलाई पनि सोच्न बाध्य बनाएको छ । कसले वा कुन गठबन्धनले बिहारको अर्को मुख्यमन्त्री तय गर्छ, त्यो हेर्न बाँकी छ । यो चुनाव बिहारको राजनीतिक भविष्यका लागि निर्णायक मोड बन्न सक्छ ।