
काठमाडौं । आगामी साता राजधानीमा एओटीसीए २०२५ अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना हुने भएको छ । नोभेम्बर १८ देखि २१ तारिखसम्म राजधानीको द सोल्टी होटल, काठमाडौंमा सम्म्लन हुन लागेको नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (एनसीटीसी)ले जनाएको छ । एनसीटीसीको आयोजना र एशियन–ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा आयोजना हुन लागेको कार्यक्रममार्फत एसिया र ओसिनिया क्षेत्रका २० भन्दा बढी देशका कर विज्ञ, नीति निर्माता, र व्यवसायिक प्रतिनिधि सहभागी हुने बताइएको छ ।
एओटीसीए २०२५ सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो । यसले देशको कर प्रणाली, नीति निर्माण र अन्तर्राष्ट्रिय कर अभ्यासमा ज्ञान आदानप्रदानका लागि नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा करिब पाँच सय पचास जना प्रतिनिधिहरूको सहभागिता रहनेछ, जसमा तीन सय पचास जना अन्तर्राष्ट्रिय र दुई सय जना नेपाली कर विज्ञ, नीति निर्माता, सरकारी अधिकारी, व्यवसायी तथा लगानीकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
सम्मेलनको प्रमुख उद्देश्य नेपालको कर व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, कर नीति र अनुपालनका अन्तर्राष्ट्रिय सर्वोत्तम अभ्यासबारे अनुभव साटासाट गर्नु र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवर्द्धनका माध्यमबाट अन्तर्राष्ट्रिय सहकार्य सुदृढ पार्नु रहेको छ । साथै, नेपाललाई मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स एन्ड एग्जिबिसन (माइस) गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य पनि यस सम्मेलनले लिएको छ ।
कार्यक्रमका विभिन्न सत्रहरूमा विकासशील देशहरूको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रहरूमा कर नीति कार्यान्वयनका चुनौतीहरू, कर अनुपालनमा व्यवसायीहरूको भूमिका, कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर र चुनौतीहरू लगायतका विषयवस्तुमा विस्तृत छलफल हुनेछ । यसैगरी विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरूको आचारसंहिता र व्यावसायिक दायित्वबारे पनि महत्वपूर्ण सत्र समावेश गरिएको छ ।
सम्मेलनको अन्तिम दिन नोभेम्बर २१ मा आन्तरिक राजस्व विभाग र एनसीटीसीको संयुक्त आयोजनामा “ट्रान्सफर एस्पेक्टस् अफ ट्रान्सफर प्राइसिङ” शीर्षकमा विशेष सेमिनार आयोजना गरिनेछ । यो चार घण्टे सेमिनारलाई ग्लोबल ट्याक्स एड्भाइजर्स प्ल्याटफर्म र सीएफई ट्याक्स एड्भाइजर्स युरोपका अध्यक्ष प्रोफेसर पियरजियोर्जियो भालेंटेले सञ्चालन गर्नेछन् । उनीसँगै चार्टर्ड एकाउन्टेन्ट र कर विज्ञ सीए. प्रविन राज काफ्लेले नेपालको ट्रान्सफर प्राइसिङ अभ्यास र त्यसका व्यावहारिक पक्षबारे प्रस्तुति दिनेछन् । यो सेमिनार दर्ता भएका सहभागीका लागि निःशुल्क हुनेछ र सिट सीमित रहने बताइएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सम्मेलनमा सहभागी सदस्यहरूका लागि १२ घण्टा सीपीई क्रेडिट स्वीकृत गरेको छ, जसले सहभागीहरूको व्यावसायिक अभिलेखमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
एओटीसीएको स्थापना सन् १९९२ मा भएको हो । यस संस्थाले एसिया र ओसियान क्षेत्रका कर विज्ञ संघहरूबीच सहकार्य, व्यावसायिक उत्कृष्टता र नैतिक आचरण प्रवर्द्धन गर्दै आएको छ । एओटीसीएले हरेक वर्ष विभिन्न देशहरूमा सम्मेलन आयोजना गरी कर सुधार, पारदर्शिता र दिगो आर्थिक विकासमा जोड दिने परम्परा कायम राख्दै आएको छ ।
आयोजक संस्था नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (एनसीटीसी) सन् २०१८ मा दर्ता भएको व्यावसायिक संस्था हो । यसले कर नीति, अनुसन्धान, व्यवसायिक आचारसंहिता, तथा सरकारी निकायहरूसँग नीतिगत संवादमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । एनसीटीसीका अनुसार, नेपालमा पहिलोपटक हुन लागेको यस सम्मेलनले देशको कर प्रणालीको विकसित रूप प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय विज्ञहरूसँग सम्बन्ध विस्तार गर्ने र नेपाललाई विश्व कर समुदायमा एक प्रभावशाली साझेदारका रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।
कार्यक्रम अन्तर्गत नोभेम्बर १९ र २० मा मुख्य सम्मेलन सत्रहरू द सोल्टी होटलमा हुनेछन् । नोभेम्बर २० मा गाला डिनर आयोजना गरिनेछ भने नोभेम्बर २१ मा आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा विशेष सेमिनार हुनेछ ।








प्रतिक्रिया