डेडिकेटेड ट्रंकलाइन विवाद

धरौटीको रुपमा पहिलो किस्ता बुझाएपछि सबै उद्योगमा काटिएको लाइन पुनः जोडियो

196
Shares

काठमाडौं । धरौटीको रुपमा पहिलो किस्ता बुझाएपछि सबै उद्योगमा काटिएको लाइन पुनः जोडिएको छ । प्राधिकरणले भनेको बक्यौता रकमको २८ मध्ये एक भाग धरौटीको रुपमा तिरेपछि उद्योगमा बिजुली जोडिएको हो ।

डेडिकेटेड ट्रंकलाइन विवादमा उद्योगीहरुले प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगको लाइन काटेको थियो । उद्योगहरुले प्रमाणसहित प्राधिकरणले बिल पठाए बक्यौता तिर्ने अडान लिएका थिए तर प्राधिकरणले आफूसँग टीओडी मिटरको बिल नभए तापनि जसरी पनि उद्योगहरुले पैसा तिर्नुपर्ने अड्डि कसेर बसेको थियो ।

बिजुली काटिएर उत्पादन, बजार, रोजगारी र कमाइ नै गुम्ने भएपछि उद्योगहरु हार खाएर सरकारी पक्षसँग घुँडा टेक्न बाध्य भएका हुन् ।

बुधबार अर्घाखाँची सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, विशाल सिमेन्ट र जगदम्बा स्टिलले धरौटी तिरेका छन् । यससँगै उनीहरु विद्युत नियमन आयोग वा अदालत जाने बाटो पनि खुलेको छ ।

लाइन काटिएका २५ मध्ये बुटवल सिमेन्ट, एभरेस्ट पेपर मिल्स र निगाले सिमेन्ट बन्द छन् । अब धरौटी बुझाउन बाँकी जगदम्बा स्पिनिङ मिल्स मात्र बाँकी छ ।

प्राधिकरणका अनुसार २१ उद्योगको बक्यौता ४ अर्ब ९४ करोड ३० लाख १८ हजार रुपैयाँ छ । जसको २८ मध्ये १ भाग अर्थात् १७ करोड ४६ लाख ८४ हजार रुपैयाँ पहिलो नयाँ किस्ताको रुपमा प्राप्त भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले क्लिकमान्डुलाई जानकारी दिए । ‘यससँगै सबै उद्योगमा काटिएको लाइन जोडिएको छ,’ ढकालले भने ।