
काठमाडौं । गरिमा विकास बैंकले दोस्रो संस्करणको गरिमा रोड रेस २०८२ आयोजना गर्ने भएको छ । बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ मंसिर ६ गते, शनिबारका दिन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
दौड काठमाडौंको बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुनेछ । गत वर्षदेखि सुरु भएको गरिमा रोड रेस यसपटक अझ विस्तारित रूपमा आयोजना गर्न लागेको बैंकले जनाएको छ ।
यस वर्ष खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र नयाँ थप गरिएको भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटर दौड हुने विकास बैंकले जनाएको छ । भेट्रान वर्ग महिला तर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्षभन्दा माथिका धावकहरूका लागि खुला हुनेछ ।
करिब १ हजार जना धावकको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । जसअनुसार खुला तर्फका पुरुष र महिला विजेताले जनही ५० हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान दुवै वर्गमा प्रथम हुनेले जनही ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १४ हजार, चौथोले १० हजार, र पाँचौंले ७ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खुला समूहको दौड बालुवाटारबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवन पुगेर त्यही बाटो हुँदै पुनः बालुवाटारमा समाप्त हुनेछ । कर्पोरेट र भेट्रान समूहको दौड बालुवाटारबाटै सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर त्यही बाटो हुँदै बालुवाटारमा समाप्त हुनेछ ।
प्रतियोगितालाई डिजिटल रूपमा सहज र व्यवस्थित बनाउन बैंकले खल्ती एप सँग सहकार्य गरेको छ । इच्छुक सहभागीले कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रूपैयाँ शुल्क तिरी नाम दर्ता गर्न सक्नेछन् ।
गत वर्ष पहिलो संस्करण गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० जना धावकको सहभागिता रहेको थियो ।







प्रतिक्रिया