
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार(आज) ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बुधबार(आज) ५० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ८४ दिनको लागि उक्त तरलता खिच्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो ३ वर्षदेखि केन्द्रीय बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ ।
रेमिट्यान्मा भएको उच्च वृद्धि र आयात व्यापार अपेक्षित बढ्न नसक्दा भुक्तानी सन्तुलन र चालु खाता पछिल्लो ३ आर्थिक वर्षदेखि लगातार बचतमा छ । जसले गर्दा बैंकहरुको निक्षेपको तुलनामा कर्जाको वृद्धिदर निरन्तर उच्च छ । बैंकहरुले अपेक्षित कर्जा बढाउन नसक्दा तरलताको चाप बढ्दै गएको छ ।
निक्षेप संकलन बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गर्दै अन्तरबैंक ब्याजदरलाई एउटा सिमाभित्र राख्ने प्रयासमा केन्द्रीय बैंक छ । तर पनि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन् ।
केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा छोटो अवधिको लागि स्थायी निक्षेप सुविधा उपलब्ध गराइरहेको छ । त्यस्तै मध्यम अवधि र केही लामो अवधिको लागि तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोलको प्रयोग गरीरहेको छ ।
तरलता बढी भएसँगै केन्द्रीय बैंकले लामो अवधिका लागि बजारबाट पैसा संकलन गर्दै आएको हो । सो क्रममा आज करिब ६ महिना अर्थात् १७५ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागिएको हो ।
पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा संकलन गर्दै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै बुधबार पनि निक्षेप संकलनको प्रक्रिया अघि बढाइएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमा तोकिएअनुसार ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सकिनेछ ।
बोलकबोल ब्याजदरका आधारमा गर्नुपर्नेछ भने, बहुब्याजदरका प्रस्तावहरू पनि मान्य हुने केन्द्रीय बैंकले जनाएको छ ।
यसरी खरिद गरिएका निक्षेप संकलन उपकरणहरू अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ।








प्रतिक्रिया