महाधिवेशन विवादले कांग्रेस फुट्न सक्छ: शेखर कोइराला

273
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन्। उनले पार्टीभित्रको विवाद समाधान गर्न आफ्नो समन्वयकारी भूमिका रहने बताए ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै हस्ताक्षर प्रमाणीकरण सुरु हुने दिनदेखि नै कांग्रेसमा विभाजनको सम्भावना रहेको बताए ।

‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु भएको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना हुन्छ,’ कोइरालाले भने, ‘४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना छ । त्यसैले पार्टी एकता जोगाउन केन्द्रीय समितिको बैठकबाटै निर्णय लिनुपर्छ।’

उनले बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेको तर पार्टी विभाजन नहोस् भनेर निर्णय केन्द्रीय समितिद्वारा हुनुपर्नेमा जोड दिए । शेखर कोइरालाले आफू मध्यमार्गी भूमिका खेलिरहेको र पार्टी विभाजनको दिशामा नजाने सुनिश्चित गर्न आफू सक्रिय रहेको पनि स्पष्ट पारे ।

यदि नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशन गर्न बाध्यात्मक स्थिति आउन सक्ने उनले बताए । तर, पार्टी एकता जोगाउने प्राथमिकता राख्दै निर्णय केन्द्रीय समितिद्वारा लिनु नै उपयुक्त हुने उनी बताउँछन्।