पाकिस्तानको जिल्ला अदालतमा आत्मघाती बम विस्फोट, १२ जनाको मृत्यु

91
Shares

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा मंगलबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको र २७ जना घाइते भएको देशका गृहमन्त्रीले बताएका छन् ।

विस्फोट राजधानीको जी–११ क्षेत्रमा रहेको जिल्ला अदालत नजिकैको प्रवेशद्वारमा भएको पाकिस्तानी समाचार वेबसाइट डनले जनाएको छ ।

इस्लामाबादमा भएको विस्फोटपछि गृहमन्त्री मोहसिन नकवी घटनास्थल पुगेका थिए ।

‘दिउँसो १२ः३९ बजे कचहरीमा आत्मघाती आक्रमण भयो । हालसम्म १२ जना शहीद भएका छन् र करिब २७ जना घाइते छन्,’ नक्वीले भने ।

अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन । तर, यो घटना पाकिस्तान र अफगान तालिबानबीच भएको तेस्रो चरणको वार्ता असफल भएको केही दिनमै भएको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार, आक्रमणकारीले भीड बढेको समयमा अदालतको मुख्य गेट नजिकै आफूलाई उडाएको देखिन्छ ।

सुरक्षा निकायहरूले घटनास्थल वरिपरि घेरा हालेका छन् । इस्लामाबाद तथा रावलपिन्डीमा उच्च सतर्कता जारी गरिएको छ ।

अधिकारीहरूले घटनामा तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) वा यसको सहयोगी गुटको संलग्नता हुनसक्ने आशंका गरेका छन् ।

सोमबार भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको थियो ।