
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक टिनु योहान्नानलाई अनुबन्ध गरेको रकम खुलेको छ । लुम्बिनी लायन्सका अनुसार योहान्नानलाई यस सिजनका लागि १३ लाख ६० हजार रुपैयाँ (८ लाख ५० हजार भारतीय रुपैयाँ) मा अनुबन्ध गरिएको हो । यद्यपि, क्लबले आधिकारिक रूपमा उनको अनुबन्ध रकम भने खुलाएको छैन ।
४६ वर्षीय योहान्नानसँग रणजी ट्रफीमा विभिन्न टोलीलाई प्रशिक्षण दिएको लामो अनुभव छ। उनले सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । उनको नेतृत्वमा केरलाले विजय हजारे ट्रफीमा दुई पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । यसअघि सन् २०१७ मा उनी केरलाका बलिङ प्रशिक्षक र अन्तरिम प्रशिक्षकको भूमिकामा पनि थिए । केरलाको मुख्य प्रशिक्षक बन्नुअघि उनले केरला क्रिकेट एकेडेमीको हाई पर्फर्मेन्स सेन्टरमा निर्देशकको रूपमा पनि काम गरेका थिए ।
पछिल्लो पटक सन् २०२४–२५ सिजनमा योहान्नान आन्ध्र क्रिकेट टोलीको मुख्य प्रशिक्षक थिए। यस वर्षको सुरुमा उनले एमआरएफ पेस फाउन्डेशनमा काम गर्न थालेका थिए, जसले भारतका लागि विश्वस्तरीय तीव्र गतिका बलरहरू उत्पादन गर्दै आएको छ ।
पूर्व भारतीय तीव्र गतिका बलरसमेत रहेका योहान्नानले भारतका लागि तीन टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले दुवै प्रारूपमा समान पाँच विकेट लिएका छन् । एसियन गेम्सका स्वर्ण पदक विजेता टिसी योहान्नानका छोरा टिनु केरला राज्यबाट टेस्ट क्रिकेट खेल्ने पहिलो खेलाडी हुन् ।
उनले सन् २००१ मा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यु गरेका थिए भने सन् २००२ मा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । योहान्नानले सन् २००९ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेलेका थिए। यसबाहेक, उनले सन् १९९९ देखि २००८ सम्म केरलाका लागि घरेलु क्रिकेट खेलेका थिए ।








प्रतिक्रिया