
एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नवीराकुलले कम्बोडियासँग अक्टोबरमा हस्ताक्षर भएको शान्ति सम्झौता तोड्न सक्ने चेतावनी दिएका छन् ।
सीमाक्षेत्र नजिकै भएको विस्फोटमा थाइल्यान्डका दुई सैनिक घाइते भएपछि उनको चेतावनी आएको हो ।
सोमबार सी सा केट प्रान्तमा नियमित गस्तीका क्रममा ती सैनिकहरूले भर्खर राखिएको हुनसक्ने बारुदी सुरुङमा टेकेको थाइल्यान्ड सेनाले जनाएको छ ।
यो विगत चार महिनामा सातौं विस्फोट हो । त्यसअघि जुलाई महिनामा भएका धमाकाहरूले वर्षौंयताकै घातक सीमा झडपहरू निम्त्याएको थियो ।
यो घटनापछि थाइल्यान्डले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा हस्ताक्षर भएको क्वालालम्पुर शान्ति सम्झौता का प्रावधानहरू निलम्बन गर्ने प्रधानमन्त्री अनुतिनले बताए । उक्त सम्झौताले थाइल्यान्ड–कम्बोडिया सम्बन्ध सामान्यीकरणका लागि निःशस्त्रीकरण प्रक्रिया र अन्य सहकार्य उपायहरू निर्दिष्ट गरेको छ ।
त्यससँगै, थाइल्यान्डले आफ्ना नियन्त्रणमा रहेका १८ जना कम्बोडियाली सैनिकहरूको रिहाइ पनि स्थगित गर्ने घोषणा गरेको छ । ती सैनिकहरूलाई नोभेम्बर २१ देखि शान्ति सम्झौताको प्रावधानअनुसार मुक्त गर्न तय गरिएको थियो ।
‘स्थिति स्पष्ट नहुन्जेल अहिलेसम्म हामीले गर्दै आएको सबै कुरा रोकिनेछ,’ अनुतिनले सोमबार पत्रकारहरूलाई बताए, ‘दुश्मनी हाम्रो सोचेजस्तो गरी घटेको छैन भन्ने कुरा घटनाले देखाउँछ । त्यसैले अहिलेका लागि हामी थप अघि बढ्न सक्दैनौं ।’
शान्ति सम्झौताले नोभेम्बर १ देखि डिसेम्बर ३१ सम्म सीमा क्षेत्रमा रहेका भारी हतियार हटाउने र बारुदी सुरुङको फोहर हटाउने संयुक्त सहकार्यको व्यवस्था गरेको छ । साथै, थाइल्यान्डले कम्बोडियामा बढिरहेको साइबर ठगीमाथि कडाइ गर्न पनि आग्रह गरेको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
१८ जना कम्बोडियाली सैनिकहरूलाई जुलाई अन्त्यदेखि थाइल्यान्डले नियन्त्रणमा राखेको छ । ती सैनिकहरूको पक्राउपछि अमेरिका र मलेसियाको मध्यस्थतामा दुवै देशबीच प्रारम्भिक युद्धविराम भएको थियो । मलेसिया अहिले दक्षिणपूर्व एशियाली राष्ट्रहरूको संगठन आसियानको अध्यक्ष देश हो ।
ट्रम्पले उक्त सम्झौतालाई थाइल्यान्ड–कम्बोडिया शान्ति सम्झौता भन्दै आठवटा युद्धहरू अन्त्य गरेको दाबी गरेका थिए । सम्झौतामा हस्ताक्षरपछि दुवै देशले सीमाक्षेत्रबाट भारी हतियार हटाउन थालिसकेका थिए ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतबीच अक्टोबर २८ मा क्वालालम्पुरमा सम्पन्न आसियान शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो । त्यही बैठकमा दुवै नेताले सीमा निःशस्त्रीकरणबारे सहमति जनाएका थिए ।
थाइ सरकारद्वारा जारी विज्ञप्तिअनुसार, अनुतिनले परराष्ट्र तथा रक्षा मन्त्रालयहरूलाई दक्षिणपूर्व एसियाली देशका सैन्य अधिकारीहरूबाट बनेको पर्यवेक्षक टोलीमा औपचारिक उजुरी दर्ता गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री अनुतिन मंगलबार सी सा केट पुगेर घाइते सैनिकहरूलाई भेट्ने र शान्ति सम्झौतामा थाइल्यान्डको आगामी कदमबारे उच्चस्तरीय बैठकको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया