६ अर्ब रुपैयाँमा आजको मितिमा समेत दरवारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद नै गर्न सकिने अबस्थामा ३० आना जग्गा प्रयोग वापत मात्रै ६ अर्व तिर्न कोही मञ्जुर हुन सक्ला ?

काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिजसम्बन्धी विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेपछि यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिले विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार ‘भ्रामक र कपोकल्पित’ भएको दाबी गरेको छ ।
लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । उनलाई थप आठ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। उनी पक्राउ परेसँगै सार्वजनिक भएका समाचारहरुमा आपत्ति जनाउँदै कम्पनीले विज्ञप्ति जारी गरेको छ ।
थामसेर्कुले मिति २०७४ जेठ १४ गते नेपाल ट्रस्टसँग कानूनी प्रक्रिया पूरा गरी दरबारमार्गस्थित ट्रस्टको जग्गा ३० वर्षका लागि (निर्माण अवधिको ३ वर्षसहित) लिजमा लिएको जनाएको छ । कम्पनीका अनुसार सो प्रक्रिया गोरखापत्र दैनिकमा नेपाल ट्रस्टले २०७३ असार १४ गते प्रकाशित गरेको टेण्डर सूचना अनुसार प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत भएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले जग्गाको हकमा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र भवन निर्माणका लागि १९ करोड २९ लाख ६५ हजार ९२७.६० रुपैयाँ तिर्ने प्रस्ताव राखेका थियौं । तोकिएका सबै शर्त पूरा गरी लिज प्राप्त गरेका हौं ।’
थामसेर्कुले कोभिड–१९ को कठिन समयमा पनि सम्झौताअनुसार तोकिएको अवधिभित्र भवन निर्माण गरेको र हालसम्म लिज वापतको २१ करोड रुपैयाँभन्दा बढी नेपाल ट्रस्टलाई भुक्तानी गरिसकेको जनाएको छ । कम्पनीले भवन निर्माणको लागत पनि प्रस्तावित रकमभन्दा बढी अर्थात ४० करोड रुपैयाँभन्दा बढी पुगेको जनाएको छ ।
थामसेर्कुले समाचारमा उल्लेख गरिएझैँ अनधिकृत रूपमा सरकारी जग्गा प्रयोग गरिएको दाबीलाई खण्डन गरेको छ ।
‘हामीले कित्ता नं. ४६०६ मा मात्रै भवन निर्माण गरेका छौं । अनधिकृत रूपमा प्रयोग गरिएको भनिएको कित्ता नं. ४६०५ बाटोको रूपमा कायम छ’ विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले लिज रकम ६ अर्ब रुपैयाँ भएको भनेर प्रसारित समाचारमा सत्यता नभएको जनाएको छ ।
थामसेर्कुले भनेको छ, ‘यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अनुसन्धान भई २०७५ माघ २८ गते आयोगको निर्णय र त्यसपछि उच्च अदालत पाटनको फैसलाबाट निरूपण भइसकेको छ । उक्त फैसलाविरुद्ध पुनरावेदन नभएको अवस्थामा फेरि त्यही विषयमा भ्रामक समाचार प्रकाशित गर्नु अदालतको अवहेलना हो ।’
कम्पनीले आफ्नो बोली प्रतिस्पर्धीहरूभन्दा निकै माथि रहेको जनाउँदै बदनियतको प्रश्न उठ्न नमिल्ने बताएको छ ।
‘दोस्रो उच्च बोलिदाताको प्रस्ताव ६२ करोड २४ लाख मात्र थियो भने तेस्रोको २६ करोड २८ लाख मात्र थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि हामीमा बदनियत हुन्थ्यो भने केही करोड मात्र बढाएर पनि लिज पाउन सक्थ्यौं, तर हामीले नै १ अर्ब ५९ करोड ४० लाख रुपैयाँको प्रस्ताव कायम राख्यौं ।’
दरबारमार्ग क्षेत्रमा ६ अर्ब रुपैयाँमा ३० आना जग्गा खरिद नै गर्न सकिने अबस्थामा ३० आना जग्गा प्रयोग वापत मात्रै ६ अर्ब तिर्न कोही तयार होला भन्दै कम्पनीले प्रश्न गरेको छ ।
‘६ अर्ब रुपैयाँमा आजको मितिमा समेत दरवारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद नै गर्न सकिने अबस्थामा ३० आना जग्गा प्रयोग वापत मात्रै ६ अर्व तिर्न कोही मञ्जुर हुन सक्ला ?,’ कम्पनीले भनेको छ, ‘यसै आधारमा हिसाब गर्ने हो भने जग्गाको मात्रै भाडा प्रति वर्ग फिट प्रति महिना १५०० रुपैयाँ भन्दा बढी नै पर्न आउने देखिन्छ, के यो आजको स्थितिमा चलन चल्तीको भाडा दर हो?’










प्रतिक्रिया