
काठमाडौं । पूर्वाञ्चल एग्रीटेकले एकै वर्ष डेढ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ५० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२४ मा १ अर्ब २३ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब २० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका दाना उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कुखुराको दाना, गाईवस्तुको दाना, बंगुरको दाना उत्पादन गरी देशभर व्यापार गर्दै आएको छ ।
कम्पनीले वार्षिक ४० हजार टन क्षमतामा उत्पादन गर्दै आएको छ । कम्पनीले गत आवमा उद्योगको क्षमताको ६१ प्रतिशत उपयोग गरेको पाइएको छ । कम्पनीले दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्र्दै आएको छ ।
दीलकुमार लामिछाने अध्यक्ष रहेको कम्पनीको गत आवमा २१.४७ प्रतिशतले व्यापार बढेको छ । जसमा कम्पनीले गत आवमा २४ हजार १०५ मेट्रिक टन दाना बिक्री गरेको छ । कम्पनीअनुसार गत आवमा उत्पादन क्षमता बढाएको र नयाँ वितरकहरु समावेश भएसँगै व्यापारमा सुधार आएको उल्लेख गरेको छ । कम्पनीले गत आवमा ८.५८ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ५.८२ प्रतिशत नाफा कमाएको थियो ।
कम्पनीले कोशी पेलेट र सर्वोत्तम ब्रान्डमा उत्पादित दाना बिक्री वितरण गर्दै आएको छ । जसमा कम्पनीले ब्रोइलर र लेयर्स कुखुराको दाना ५० केजीको प्याकेटमा बिक्री गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० करोड ५७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५९ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया