
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ नेतृत्वको समूह नेकपा (एमाले)मा फर्कने तयारीमा छन्।
बिहीबार झाँक्री र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली तथा महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेका छन् । भेटमा आगामी कात्तिक २४ गते राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रममार्फत् एमालेमा पुनः प्रवेश गर्नेबारे सहमति भएको नेताहरूले बताएका छन् ।
एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतका अनुसार झाँक्रीलगायत नेताहरू एमाले फर्कने अन्तिम तयारीमा छन् । उनले झाँक्री समूहसँग आज भएको भेटपछि कात्तिक २४ गते औपचारिक रूपमा एमाले प्रवेश कार्यक्रम तय भएको जानकारी दिए ।
माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीलगायत १० दलीय घटक एकताभई नेपाली कम्युनिष्ट पार्टी गठन भएको थियो । तर झाँक्री र श्रेष्ठ समूह उक्त एकीकृत दलमा सामेल भएका थिएनन् । हिजो पत्रकार सम्मेलन गर्दै उनीहरूले एमाले फर्कने बताएका थिए ।







प्रतिक्रिया