डेडिकेटेड र ट्रंकलाइन विवाद: थप ३ उद्योगले पैसा तिरे, जोडियो बिजुली

476
Shares

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम रकम बक्यौता विवादमा परेका थप तीन उद्योगले पहिलो किस्ता तिरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबार भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि ती उद्योगहरूमा पुनः बिजुली जोडिएको छ ।

द्योगहरूले माघ २०७२ देखि वैशाख २०७५ सम्मको अवधिमा डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल बुझाउन बाँकी रकमको पहिलो किस्ता तिरेका हुन् । बक्यौता रकम क्रमशः एसआर फुड्सको १ करोड ४८ लाख, भलवारी स्वचालित कारखानाको ३० लाख र एसआर स्टिल इन्डस्ट्रिजको १६ लाख रुपैयाँ रहेको छ । उक्त रकम २८ किस्तामा बुझाउने व्यवस्था गरिएको छ ।

यसअघि सोमबार भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पनि पहिलो किस्ता तिरेका थिए । ती उद्योगहरूको बक्यौता रकम क्रमशः पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।