अध्यक्षलाई कार्यालय प्रवेश निषेध गरेपछि धितोपत्र बोर्ड सञ्चालक समिति बैठक अर्थमन्त्रालयमा

91
Shares


काठमाडौं । कर्मचारीले अध्यक्षलाई नेपाल धितोपत्र बोर्डमा प्रवेश निषेध गरेपछि बोर्ड सञ्चालक समितिको बैठक अर्थ मन्त्रालयमा बस्ने भएको छ ।

मंगलबार साढे ४ बजे बैठक बोलाएको बोर्ड सञ्चालक समितिका एक सदस्यले बताए ।

कर्मचारीले खाइपाइ आएको सुविधा अर्थमन्त्रालयको सचिव स्तरीय निर्णयबाट खारेज गर्न निर्देशन दिएपछि धितोपत्र बोर्डका कर्मचारी डेढ महिनादेखि आन्दोलित छन् । यही आइतबारदेखि भने बोर्डका कर्मचारीले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई कार्यालय प्रवेश निषेध गरेका छन् । उनीहरुले अध्यक्ष श्रेष्ठको कार्यकक्षमा ताला लगाएका छन् ।

गत शुक्रबार कर्मचारीसँगको छलफलमा अधयक्ष श्रेष्ठले कर्मचारी अदालत जानुपर्ने र त्यसमा आफूले सहयोग गर्ने बताएका थिए। तर कर्मचारीले बोर्ड नै अदालत जानुपर्ने बताएपछि सञ्चालक समितिले निर्णय गरे पनि आफू अदालत जान तयार नरहेको अध्यक्ष श्रेष्ठले बताएपछि आइतबारबाट उनलाई पनि कार्यालय प्रवेशमा रोक लगाएको बोर्डका कर्मचारीहरू बताउँछन् ।

अध्यक्ष श्रेष्ठ भने सञ्चालक समितिले निर्णय गरेमा आफू अदालत जान सकारात्मक रहेको क्लिकमान्डुसँगको कुराकानीमा बताएका थिए ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा अर्थमन्त्रालयको निर्देशनले डेढ महिनादेखि सबै काम कारबाही ठप्प हुँदा पनि अर्थमन्त्री रामेश्वर खनाल भने मौन छन् । समस्या समाधानको लागि उनले कुनै पहल नगरेको आरोप लागिरहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा मन्त्रालयको २०८२ भदौ ३१ को निर्णय (राजस्व सचिव स्तरीय) बमोजिम कार्यान्वयन गर्न भन्दै पत्र लेखेपछि कर्मचारी आन्दोलित बनेका थिए।

कर्मचारीको आन्दोलनका सन्दर्भमा छलफल गर्नकै लागि मंगलबार अर्थ मन्त्रालयमा सञ्चालक समितिको बैठक बस्न लागेको एक सदस्यले बताए ।