मैले राजीनामा दिन लागेको होइन: कुलमान

203
Shares

काठमाडौं । ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री कुलमान घिसिङले आफूले सरकारबाट राजीनामा दिन लागेको बारे सार्वजनिक भएका समाचारहरूमा सत्यता नभएको स्पष्ट पारेका छन् ।

मन्त्री घिसिङले पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूले राजीनामा दिन लागेको विषयमा प्रकाशित भएको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्,’पदबाट राजीनामा दिन लागेको समाचारहरुमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु ।’

सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको अन्तरिम सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

आफूले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको भन्दै उनले आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न आफु क्रियाशिल रहेको जानकारी दिएका छन् ।

‘जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनको पछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ,’ उनले भनेका छन्, ‘तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रुपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’