
काठमाडौं । सरकारले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका मृतक परिवार र घाइतको उपचारलाई करिब १३ करोड रुपैयाँ दिएको छ ।
असोजसम्म जेनजी आन्दोलनका मृतकलाई आर्थिक सहायता, काज किरिया, खाना तथा यातायात खर्च बापत ५३ परिवारलाई प्रतिपरिवार १५ लाखका दरले ७ करोड ९५ लाख निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै सोही आन्दोलनका घाइतेलाई उपचारको लागि असोजसम्म ४ करोड ८५ लाख रुपैयाँ निकासा भएको मन्त्रालयले जनाएको छ।
‘२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका घाइतेलाई तत्काल भैपरी खर्च बापत २४२९ व्यक्तिलाई प्रति व्यक्ति २० हजारका दरले ४ करोड ८५ लाख ८० हजार निकासा दिएको छ,’ मन्त्रालयले भनेको छ ।
यस्तै नेपाल प्रहरीका लागि १०० थान पिक अप र ६ प्रिजनर भेइकल (कैदीबन्दी ओसार्ने गाडि) खरिदका लागि ४५ करोड ३० लाख रुपैयाँ थप बजेट उपलब्ध गराउन स्रोत सहमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ । यस्तै सशस्त्र प्रहरी वल नेपालका लागि २० थान पिक अप, २० थान दङ्गा नियन्त्रण गर्ने गाडी, २ थान एम्बुलेन्स, ३ थान डिजास्टर रेस्क्यू भ्यान र ५ थान १२/१२ ट्रक खरिदका लागि २३ करोड ५ लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
सुरक्षा निकायका कयौं सवारीसाधन जेनजी आन्दोलनका क्रममा आगजनी भएका थिए ।







प्रतिक्रिया