
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख १० हजारले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (साउन–असोजसम्म) २ लाख १० हजार ५१६ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार चालु आव. २०८२/८३ को साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ । गत आ.व. २०८१/८२ को सोही अवधिमा १ लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आ.व.मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३९ हजार ९१३ ले बढी रहेको विभागको तथ्यांकले देखाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई), साउदी, कतार, ओमान, बहाराइन र कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशहरूमा जानेको संख्यामा कमी नआएको तथ्यले देखाएको छ ।
असोज महिनामा मात्रै युएईका लागि साढे १८ हजार जनाले श्रम स्वीकृति लिएका छन् । युएईपछि कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि ८ हजार ७९१ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतका लागि ४ हजार ५२३ जना रहेका छन् । गत आ.व.मा रोजगारी खोज्दै ८ लाख ३९ हजारभन्दा बढी युवा विदेशिएका थिए ।
वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार, जेन–जी आन्दोलनको असर वैदेशिक रोजगारीमा अझै पूर्णरूपमा देखिएको छैन, तर आगामी दिनमा देखिन सक्ने अनुमान गरिएको छ । दुबईले भिसा रोकेको छ भने अरूले सुरक्षा चासो बढाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले जेन–जी आन्दोलनपछि दुबईले भिसा रोकेको बताए । उनका अनुसार अन्य देशहरूले पनि सुरक्षामा चासो देखाइरहेका छन् ।
गुरुङले भने, ‘दुबई इमिरेट्सले भिसा रोकेको छ । कामदार मात्र होइन, विद्यार्थी भिसा पनि रोकेको अवस्था छ । अन्य देशको सन्दर्भमा नेपालका जेलबाट कैदीहरू भागेका कारण कतै अपराधी त आएका छैनन् भनेर बुझाइका कारण ती देशहरूले चासो देखाइरहेका छन् । खासगरी दुबई बाहेक अरू देशले धेरै कडाइ गरेको अवस्था छैन ।’
पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेहरूको संख्या बढेको उनको भनाइ छ ।
विभागले पनि श्रम गन्तव्य मुलुकमा गरिएको श्रमिकमैत्री कानूनी परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण रूपमा अनलाइन बनाइएको र गन्तव्यमा श्रमिक अभावका कारण माग बढेको अनुमान गरेको छ ।








प्रतिक्रिया