
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. ४ विगतमा कांग्रेसको गढ मानिन्थ्यो । तर २०७४ सालमा कांग्रेसभित्रको अन्तरघात र अघिल्लो निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धनका कारण दुईवटा निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीले बाजी मार्दा यो क्षेत्रमा कांग्रेसले आफ्नो पकड गुमायो ।
२०४८ सालदेखि २०६४ अघिसम्म यो निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका भीमराज राजबंशीले महेश आचार्यलाई पराजित गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा पुनः आचार्यले विरासत फर्काएका थिए । त्यसयताका निर्वाचनमा कहिले एकल त कहिले गठबन्धनमा यो क्षेत्रमा तत्कालीन माओवादीले राज गर्दै आएको छ । यहाँ एमालेको बलियो संगठन रहे पनि ऊ हारेको हारेकै छ ।
मोरङ–४ मा कांग्रेस महामन्त्री घिमिरे विरासत फर्काउने प्रयत्नमा रहँदा गठबन्धनविहीन नेकपाका मोदी जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने एमालेबाट प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे पार्टीको पहिलो जितको खोजीमा छन्।
तर यसपटक अलि फरक ढंगको चुनावी माहोल बनेको छ । सबै दलका उम्मेदवार एक्लाएक्लै चुनावी दौडमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थितिले परिणाम के होला भन्ने अनेकन अड्कलबाजी सुरु भएका छन् । पुराना दल आफ्नो विगत दोहोर्याउने तयारीमा रहँदा नयाँ भने पुराना दललाई विस्थापित गर्दै जित निकाल्न बलबुताले भ्याएसम्म अभ्यस्त छन् ।
यसपटक तत्कालीन माओवादी केन्द्र (यसपटक नेपाली कम्युनिस्ट पार्टी) को नामबाट निर्वतमान सांसद अमनलाल मोदी ह्याट्रिक गर्ने दाउमा छन् । यसैगरी कांग्रेस भने विगतको विरासत फर्काउने तयारीमा छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सञ्चारकर्मी युवा सन्तोष राजबंशी उम्मेदवार छन् । उनी पुरानालाई हराउँदै पहिलो जित दर्ता गर्ने रणनीतिमा छन् ।
महेश आचार्यले छाडेपछि यसपटक कांग्रेस महामन्त्री गुरुराज घिमिरे मोरङ–४ मा उम्मेदवार छन् । विगतमा कांग्रेसको गढ २०६४ मा ‘माओवादी र फोरम लहर’ मा गुम्यो । २०७९ मा माओवादीसँगै गठबन्धन हुँदा कांग्रेसको भागमा यो क्षेत्र परेन । दुवै पटक माओवादीका अमनलाल मोदी विजयी भए । क्षेत्रमा पर्ने ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिकाको तल्लो भेग र कटहरी गाउँपालिकाका वडाहरूमा थारु तथा आदिवासी बाहुल्यता छ । यो मत मोदी र राजबंशीमा बाँडिने स्थिति रहँदा मोदीलाई घाटा र कांग्रेसलाई नाफा हुने स्थिति छ ।
मोरङ–४ मा ग्रामथान र कटहरी गाउँपालिका सबै वडासहित विराटनगर महानगरपालिकाको १, २, ३, ८, १०, १९ तथा बेलबारी नगरपालिकाको ५, ६ र ७ गरी जम्मा २३ वटा वडा पर्छन् ।
यो क्षेत्रमा १ लाख १९ हजार २५५ मतदाता छन् । मोरङ–४ थारु बाहुल्य क्षेत्र हो । ५५ हजारभन्दा धेरै आदिवासी मत रहेको छ । विराटनगर महानगरको सहरी क्षेत्रका मतदाताको संख्या ४९ हजार ६०१ रहेको छ । विगतका निर्वाचनमा महानगरका मतदाता निर्णायक बन्दै आएका थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले नै बलियो देखिएको थियो । यो क्षेत्रका २३ वडामध्ये एमालेले १८ वटा वडामा विजय हासिल गरेको थियो । नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले १ वडामा जितेको थियो ।
२०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा रहेका अमनलाल मोदी ३० हजार ६१२ मतसहित विजयी भए । एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरे । मोदी यसपटक गठबन्धनविहीन छन् भने उनले विगतका दुई निर्वाचनमा पाउँदै आएको जातीय मत रास्वपाका राजबंशीमा विभाजन हुने चिन्ता छ । उता एमालेका ढकाल यसपटक क्षेत्र नं. ६ मा सरेर कांग्रेसका डा. शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दै छन् ।
कांग्रेसका घिमिरेले सार्वजनिक गरे ३९ बुँदे प्रतिबद्धता
मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस महामन्त्री गुरुराज घिमिरेले निर्वाचन क्षेत्रगत रूपमा आफ्नो ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
पुस अन्त्यतिर सम्पन्न पार्टीको विशेष महाधिवेशनबाट पुरानो नेतृत्वलाई विस्थापित गर्दै महामन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा आएका घिमिरेले पार्टीको केन्द्रीय प्रतिबद्धता पत्रलाई कार्यान्वयन गर्दै निर्वाचन क्षेत्रगत रूपमा आफूले सार्वजनिक गरेका शिक्षा, स्वास्थ्य, रोजगार र विकास पक्षका प्रतिबद्धता आफू निर्वाचित भए पाँच वर्षभित्र कार्यान्वयन गरिसक्ने बताएका छन् ।
विराटनगर–१९ को बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित अन्य खेलका लागि सुसम्पन्न भौतिक पूर्वाधार विकास गरी खेलकुद ग्राम बनाउने, यस क्षेत्रका सामुदायिक तथा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने साथै सूचना प्रविधिमैत्री बनाई ई–लाइब्रेरी सञ्चालन गर्ने योजना घिमिरेको छ । सुनसरीको खनारदेखि मोरङको केरौनासम्म सुनसरी–मोरङ सिँचाइ योजनाको मूल नहरमा कालोपत्रे गरी मोरङको भित्री क्षेत्रलाई कालोपत्रे सडक सञ्जालसँग जोड्ने, कृषि, सडक, मठमन्दिर, पुलपुलेसा, भूमिहीनका लागि व्यवस्थित बसोबास, अलपत्र रिङरोड निर्माण, युवा स्वरोजगार, सिँचाइ, सोलार सडक बत्ती, बाढी कटान तथा डुबान नियन्त्रणलगायतका योजनालाई घिमिरेले प्राथमिकतामा राखेका छन् ।








प्रतिक्रिया