
काठमाडौं । आइएमई ग्रुपको लगानी रहेको हाथवे स्टक डिलरको व्यापार १५६.८४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५६.८४ प्रतिशतले बढेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार गरेको थियो । कम्पनीले सन् २०२५ मा ४ अर्ब ६२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ८० करोड रुपैयाँ र सन् २०२३ मा १ अर्ब २३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो।
सन् २०२१ बाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपालको सहायक कम्पनी हो । कम्पनीले व्यापार र विभिन्न सेकुरिटीजसँगै दर्ता भएका र दर्ता नभएका सेयर र डिभेन्चर कम्पनीहरुमा लगानी गर्दै आएको छ ।
आइएमई ग्रुपको लगानी रहको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले विशेषगरी विभिन्न क्षेत्रमा लगानीको काम गर्दै आएको छ ।
कम्पनीको आम्दानीको स्रोत भनेको सूचीकृत सेयरको कारोबार हो । जयराम नेपाल अध्यक्ष रहेको कम्पनीले गत आवमा ६.२८ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ०.२८ प्रतिशत नाफा कमाएको थियो ।
गत आवमा ब्याज खर्च ३ करोड ८० लाख रुपैयाँबाट बढेर ७ करोड ८० लाख रुपैयाँ पुगेको छ । साथै, अल्पकालीन कर्जा १९ करोड ९० लाख रुपैयाँबाट बढेर ६८ करोड ७० लाख रुपैयाँ पुगेको रेटिङमा उल्लेख छ । कम्पनीले सूचिकृत शेयरको खरिद तथा बिक्रीको कारोबार गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङ प्रकृतिको ऋणको लागि एकल दायित्व सीमा १५ करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुर्याएको छ । तर संस्थागत लगानीकर्ताहरुको लागि कुनै सीमा तोकेको छैन । पहिले संस्थागत लगानीकर्ताहरुको लागि २० करोड रुपैयाँको सीमा तोकेको थियो। त्यसैगरी राष्ट्र बैंकले मार्जिन लेन्डिङ ऋणको जोखिम भारलाई पनि शतप्रतिशत घटाएको छ ।







प्रतिक्रिया