भारतको अन्तरिक्ष निकायले बाहुबली रकेटमार्फत भारी सञ्चार उपग्रह प्रक्षेपण गर्ने, द्रुत इन्टरनेट पाइने

105
Shares

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आइतबार महत्त्वपूर्ण प्रक्षेपण गर्न लागेको छ ।

इसरोले ४ हजार ४ सय १० किलोग्राम तौलको ठूलो सञ्चार उपग्रह सीएमएस–०३ लाई श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट जियोसिङ्क्रोनस ट्रान्सफर अर्बिट (जीटीओ) मा पठाउँदैछ । यसको काउन्टडाउन सुचारु रूपमा अघि बढिरहेको छ ।

सीएमएस–०३ लाई भारतबाट प्रक्षेपण गरिएको सबैभन्दा भारी सञ्चार उपग्रह मानिएको छ । यसले ठूलो पेलोड लिएर स्वदेशी रकेटद्वारा उडान भर्ने इसरोको क्षमतालाई नयाँ उचाइमा पु‍र्याएको बताइएको छ ।

पहिलेका ठूला उपग्रहहरू जीसाट–११ (जसको तौल ५ हजार ८ सय ५४ किलोग्राम थियो) फ्रान्सको गियानास्थित एरियन–५ रकेटबाट प्रक्षेपण गरिन्थ्यो । तर, सीएमएस–०३ भने भारतकै भूमिबाट भारतकै स्वदेशी रकेट एलभीएम–३ मार्फत उडान भर्नेछ ।

यस उपग्रहलाई बाहुबली भनिने एलभीएम–३एम–५ ले कक्षमा पु‍र्याउनेछ । यो रकेट ४ हजार किलोग्रामसम्मको पेलोडलाई जियोसिङ्क्रोनस ट्रान्सफर अर्बिटमा पठाउन सक्षम छ ।

प्रक्षेपण स्थानीय समयअनुसार साँझ ५ः२६ बजे प्रक्षेपण गरिनेछ ।

यस सञ्चार उपग्रहले भारतको सञ्चार सञ्जाललाई अझ सबल बनाउने, भारतीय भूभाग र आसपासका समुद्री क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने, द्रुत इन्टरनेट, टेलिभिजन प्रसारण र सुरक्षित सञ्चार प्रणालीलाई सुदृढ बनाउने काम गर्नेछ ।

इसरोले आधिकारिक रूपमा पुष्टि नगरे पनि यस उपग्रहमा सैन्य प्रयोजनका सम्भावित प्रयोगहरू पनि रहेको बताइएको छ ।