पहुँचका भरमा नियुक्त कर्मचारी हटाउन र नेवानिलाई बिग्रिएको धनाढ्यको घरजस्तो नबनाउन निर्देशन

266
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा पहुँचका आधारमा नियुक्त भएका सबै करारका कर्मचारीलाई हटाउन निर्देशन दिएकी छन् ।

निर्वतमान कार्यकारी निर्देशक युवराज अधिकारीले जाँदाजाँदै नियुक्त गरेका र अधिकारीले अवकास पाएपछि मात्रै हाजिर भएका भनिएका सबै कर्मचारी हटाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन ।

उनले निगमलाई बिग्रएको धनाढ्यको घर जस्तो बाहिरबाट हेर्दा सबै ठीकठाक भित्रको अवस्था खराब बनाउने नहुने पनि बताएकी छन् ।

हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मोरी सम्हालेकी कार्कीले आइबार निगमको सञ्चालक समिति र व्यवस्थापनका कर्मचारीलाई बोलाएर निगमलाई सुधार गर्ने प्रयास अहिल्यैबाट थाल्न निर्देशन दिएकी हुन् ।

उनले भनिन्, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो ?’

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देशन दिइन्।

उनले निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन् ‘हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो। त्यो पनि छैन।’

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन्।

‘यो घाटा त जनताले बेहोरेको घाटा हो नि,’ उनले भनिन्, ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ। अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।’

निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उनले प्रश्न गरिन् । ‘सरकारले नै यति ठूलो स्रोतसाधन उपलब्ध गराएको छ। सरकारले साथ दिइरहेको छ। तैपनि, यो संस्था घाटामा जानुको कारण के हो ? ’ उनको प्रश्न थियो, ‘बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि ?’