नाइजेरियाविरुद्ध सैन्य कारवाही चलाउन ट्रम्पले दिए आदेश

798
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नाइजेरियामा इस्लामी आतंककारी समूहहरूलाई नियन्त्रण गर्न सैन्य कारवाहीको योजना तयार गर्न पेन्टागनलाई आदेश दिएका छन् ।

नाइजेरियाको सरकारले देशका इसाईहरूको हत्या रोक्न पर्याप्त काम नगरेको आरोप पनि उनले लगाएका छन् ।

ट्रम्पले कुन हत्याको घटनाबारे कुरा गरिरहेको स्पष्ट पारेनन् । तर, पछिल्ला हप्ताहरूमा अमेरिकाको दक्षिणपन्थी वृत्तहरूमा नाइजेरियाका इसाईहरूमाथि नरसंहार भइरहेको दाबीहरू फैलिएका छन् ।

हिंसा अनुगमन गर्ने समूहहरूले नाइजेरियामा इसाईहरू मुसलमानभन्दा बढी मारिएको कुनै प्रमाण नरहेको बताएका छन् । नाइजेरियामा इसाई र मुस्लिम जनसंख्या बराबर जस्तै छ ।

अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश नाइजेरियाको सरकारले अमेरिकाबाट आएको यो सैन्य धम्कीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

तर, नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले भने देशमा धार्मिक सहिष्णुता रहेको बताए । उनले सुरक्षासम्बन्धी समस्याले सबै धर्म र क्षेत्रका मानिसहरूलाई समान रूपमा प्रभावित पारेको जिकिर गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा ट्रम्पले अमेरिकाको युद्ध विभागलाई सम्भावित कारवाहीका लागि तयारी गर्न निर्देशन दिएको उल्लेख गरे । नाइजेरियाको सरकारले केही गरेन भने म बन्दुक बोकेका सेना पठाउने उनले चेतावनी दिए । साथै, उनले नाइजेरियालाई दिइने सबै सहायता पनि रोक्ने बताए ।

‘हामीले आक्रमण गरेमा भने त्यो तीव्र र क्रूर हुनेछ,’ उनले लेखे, ‘जसरी आतंककारीहरूले हाम्रा प्रिय इसाईहरूमाथि आक्रमण गर्छन् हामी पनि तिनमाथि कडा आक्रमण गर्नेछौं ।’

यसअघि ट्रम्पले नाइजेरियालाई कन्ट्री अफ पार्टिकुलर कन्सर्न भनी घोषणा गरेका थिए । अर्थात्, यस्तो देश जसले धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको छ । उनले प्रमाण नदिई नाइजेरियमा हजारौं इसाईहरू मारिएको इसाईहरूको अस्तित्वमै खतरा उत्पन्न भएको दाबी गरेका छन् ।

ट्रम्पको घोषणापछि नाइजेरियाका राष्ट्रपति टिनुबुले आफ्नो सरकार सबै धार्मिक समुदायको सुरक्षा गर्न अमेरिका र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

‘नाइजेरियालाई धार्मिक रूपमा असहिष्णु देशको रूपमा चित्रण गर्नु हामो वास्तविकतासँग मेल खाँदैन,’ उनले थपे ।

उत्तरी–पूर्वी नाइजेरियामा बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स जस्ता जिहादी समूहहरूले दस वर्षभन्दा बढी समयदेखि हिंसा मच्चाइरहेका छन् । उनीहरूले हजारौं मानिसको ज्यान लिएका छन् । तर, अधिकांश पीडित मुसलमान नै भएको तथ्यांक अन्तर्राष्ट्रिय संगठन एसीएलईडीले प्रस्तुत गरेको छ ।

मध्य नाइजेरियामा पनि मुसलमान गोठाला र इसाई किसान समूहबीच पानी र चरनका विषयमा बारम्बार झडप हुने गर्छ ।
यी आक्रमण प्रत्याक्रमणहरूले हजारौंको ज्यान लिएका छन् । तर, दुवै पक्षबाट हिंसा भएको छ । मानवअधिकार समूहहरूले इसाईहरूलाई मात्र लक्ष्य बनाइएको प्रमाण नरहेको बताएका छन् ।

ट्रम्पले बारम्बार अमेरिकालाई कुनै नयाँ युद्धमा नतान्ने राष्ट्रपति भनेर गर्वका साथ बताउने गरेका छन् ।

तर, पछिल्ला महिनाहरूमा अमेरिकाका दक्षिणपन्थी समूहहरूबाट नाइजेरियाको इसाई समुदायमाथिको हिंसाबारे अमेरिकी सरकारले केही गर्नुपर्छ भन्ने दबाब बढ्दै गएको छ ।