अमेरिकाका पूर्व सैनिकहरूमा व्यापक मानसिक समस्या, साइकेडेलिक औषधिमा जोड

581
Shares

एजेन्सी । अमेरिकाका पूर्वसैनिकहरूमा आत्महत्याको समस्या गम्भीर महामारीजस्तै बनेको छ ।

सोमबारबाट प्रसारण हुने वृत्तचित्र इन वेभ्स एन्ड वारमा मानसिक आघात (पीटीएसडी) र डिप्रेशनसँग संघर्ष गरिरहेका ती सैनिकहरूको लागि लठ्याउने साइकेडेलिक औषधिहरूले आशाको सानो झिल्को दिएको छ ।

‘हामी वैज्ञानिक होइनौं, ठ्याक्कै के भइरहेको हो हामीलाई थाहा छैन,’ वृत्तचित्रका निर्देशक जोन शेंकले बताए । पत्नी बोनी कोहेनसँग मिलेर उनले उक्त वृत्तचित्र बनाएका हुन् ।

‘तर केही त खास कुरा अवश्य छ,’ उनले बताए ।

यो वृत्तचित्र सोमबारदेखि नेटफ्लिक्समा प्रदर्शन हुँदैछ । यसले इराक र अफगानिस्तानका युद्धहरूमा लामो समय बिताएका तीनजना अमेरिकी पूर्व–नेभी सील सैनिकहरूको कथा देखाउँछ । ती सैनिकहरू अदृश्य मानसिक घाउहरूसँग लडिरहेका छन् ।

वर्षौंसम्म गोली हानाहानको बीचमा बाँचेका ती सैनिकहरू अहिले अर्कै युद्धमै फसेका छन् । पीटीएसडी, मस्तिष्कको चोट, डिप्रेशन र मदिराको दुर्व्यसनसँग उनीहरू युद्ध गरिरहेका छन् ।

चिकित्सकहरूले दिएका एन्टिडिप्रेशन औषधिहरूले ती सैनिकहरूलाई उपचारभन्दा बढी बिगार गरिरहेका छन् । उनीहरू आफ्नै परिवारका लागि अपरिचित बनेका छन् । कोहेनका अनुसार, यी औषधिहरूले उनीहरूलाई मात्र नभई उनीहरूको परिवारलाई पनि भित्रैदेखि भत्काइदिएका छन् ।

ती तीन सैनिक मेक्सिको गएर प्रयोगात्मक उपचार लि गराएको वृत्तचित्रमा देखाइएको छ । दुईवटा साइकेडेलिक औषधिहरू, अफ्रिकी बोटबाट निकालिने इबोगाइन र कोलोराडो नदीको भ्यागुतोको शरीरबाट निस्कने झोल पदार्थबाट बनाइएको ५–मियो–डीएमटी, उनीहरूले लिएका थिए ।

पूर्वसैनिक मार्कस कापोन फिल्मका मुख्य पात्र हुन् । उनी भन्छन्, ‘यो उपचारबाट पूरा जीवन नै रिबूट भएको अनुभव हुन्छ । यसले तपाईंलाई वास्तविक आत्मामा फर्काउँछ, त्यस्तो समयमा जब तपाईंलाई जीवनमा गहिरा घाउ थिएनन् ।’

उनकी श्रीमती एम्बर भन्छिन्, ‘यस उपचारले निराश भएकाहरूमा फेरि आशा जगाइरहेको छ ।’

यी दम्पतीले मिलेर स्थापना गरेको संगठन भेट्रान्स एक्सप्लोरिङ ट्रीटमेन्ट सोलुशन्सले सन् २०१० देखि करिब १२ सय अमेरिकी पूर्वसैनिकलाई मेक्सिकोमा उपचारका लागि लगिसकेको छ ।

अमेरिका र अधिकांश अन्य देशहरूमा अवैध मानिने पदार्थ उनीहरूले मेक्सिकोमा प्रयोग गर्न पाउँछन् ।

निर्देशकहरूलाई कापोन दम्पतीको विश्वास जित्न समय लाग्यो । त्यसपछि मात्र उनीहरूले यस गोप्य र अनुशासित समुदायको भित्री जीवन देखाउन सके ।

फिल्ममा देखिएका अर्का पूर्वसैनिक म्याटी रोबट्र्सले भनेका छन्, ‘यो हिप्पी औषधिले मेरा साथीहरूलाई सहयोग गरेको छ भने मलाई पनि मद्दत गर्न सक्छ ।’

उनको रूपान्तरण फिल्मको सबैभन्दा गहिरो दृश्य हो । उनले औषधि सेवनपछि वाकवाकी गरेको र रोइरहेको क्षणहरू देखिन्छन् । तर, त्यसपछि नयाँ दृष्टिकोणसहित उनको पुनर्जन्मझैं देखिन्छ ।

यी गहिरा मानसिक यात्राहरूलाई वृत्तचित्रले एनिमेशनमार्फत देखाएको छ । त्यसले उनीहरूको अवचेतन मनका अँध्यारा कुना र पुराना घाउहरूलाई उजागर गर्छ ।

अहिलेसम्म वैज्ञानिक समुदायमा पनि साइकेडेलिक पदार्थहरूले डिप्रेशन र दुर्व्यसनको उपचारमा नयाँ सम्भावना देखाइरहेका छन् ।

फिल्ममा स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरू ती सैनिकहरूको मानसिक सुधारबाट चकित देखिन्छन् । तर, यसले मस्तिष्कमा ती औषधिहरूले कसरी काम गर्छन् वा तिनका खतरा के हुन् भन्ने गहिरो रूपमा व्याख्या गर्दैन ।

उदाहरणका लागि, इबोगाइनले मुटुमा क्षति पु‍र्याउने खतरा हुन्छ ।

‘हामीले यो फिल्म वैज्ञानिकभन्दा बढी भावनात्मक बनाउन खोज्यौं,’ निर्देशक कोहेन भन्छिन्, ‘अध्ययनहरू उत्साहजनक छन् तर अहिले ती सुरुवाती चरणमै छन् ।’

आफ्नो कथाले अमेरिकी नीतिनिर्मातालाई प्रेरित गरोस् भनी सैनिकहरूले चाहेका छन् । यस्ता औषधिहरूमा थप अनुसन्धान गर्नका लागि कानूनी अवरोध हटाइयोस् भन्ने उनीहरूको चाहना छ ।

मार्कस कापोन भन्छन्, ‘हामी यी सबै औषधिहरूमा थप अनुसन्धान चाहन्छौं ।’

उनकी श्रीमती एम्बर थप्छिन्, ‘हामी यी पदार्थलाई कानूनी बनाऊ भनेर माग गरिरहेका छैनौं । हामी अध्ययनलाई विस्तार गरौं, अनुसन्धानमा अवरोध घटाऔं र यसले साँच्चै काम गर्छ कि गर्दैन भन्ने बुझ्न कोसिस गरौं भन्छौं ।’

अमेरिकाको डिपार्टमेन्ट अफ भेट्रान्स अफेयर्सको पछिल्लो तथ्यांकअनुसार, सन् २०२२ मा ६ हजार ४ सय ७ पूर्वसैनिकहरूले आत्महत्या गरेका थिए । त्यो भनेको औसतमा हरेक दिन १७ भन्दा बढी सैनिकको संख्या हो ।

यस वृत्तचित्रले पूर्व सैनिकहरूको पीडादायी वास्तविकतालाई देखाउनुका साथै आशाको झिल्को पनि देखाउँछ । कहिलेकाहीँ विज्ञान र अनुभवको सीमाभित्रबाट पनि मुक्ति सम्भव हुन सक्ने आशा यसले दिन्छ ।