रुस र चीनले गरे संयुक्त पनडुब्बी अभ्यास, अमेरिकालाई सन्देश

98
Shares

एजेन्सी । रुस र चीनबीचले पहिलोपटक संयुक्त पनडुब्बी अभ्यास गरेका छन् ।

अभ्यासका क्रममा दुवै देशले सोनार डेटा आदानप्रदान गरेको र बचाउ अभ्यास पनि सञ्चालन गरेको बताइएको छ ।

यो अभ्यास अगस्ट महिनाको आरम्भमा भएको थियो तर यसको जानकारी हालै मात्र सार्वजनिक भएको हो । अभ्यासमा दुईवटा किलो श्रेणीका डिजेल–इलेक्ट्रिक आक्रमण पनडुब्बीहरू सहभागी थिए । रुसको भोल्खोभ र चीनको ग्रेट वाल २१० पनडुब्बी अभ्यासमा थिए । त्यसक्रममा रुसी पानीजहाजहरूले पनि लगातार सहयोग गरेका थिए ।

१५ दिनसम्म चलेको यो संयुक्त अभ्यास ज्वाइन्ट सी २०२५ नामक जलसैनिक अभ्यासपछि सम्पन्न भएको थियो । त्यो अभ्यास जापान सागर पनि भनिने पूर्वी सागरमा आयोजित गरिएको थियो ।

चीनको अर्डनेन्स इन्डस्ट्री साइन्स टेक्नोलोजी पत्रिकाका अनुसार, यी दुई पनडुब्बीले दक्षिण कोरिया र जापानको बीचमा पर्ने चुसिमा जलसंयोजक (स्ट्रेट) पार गरेका थिए । त्यसपछि पूर्वी चीन सागर प्रवेश गरेर उनीहरू अन्तिममा आफ्ना आधारस्थलहरूमा फर्किएका थिए । उनीहरूले झण्डै २ हजार नौटिकल माइल यात्रा गरेको बताइएको छ ।

पत्रिकाका अनुसार, यसले अमेरिकालाई स्पष्ट सन्देश पठाएको छ । पश्चिमी प्रशान्त महासागरमा पानीमुनिको प्रभुत्व अब एउटा मात्र देशको एकाधिकारमा नरहने सन्देश प्रवाहित भएको छ । यस अभ्यासले चीन र रुसबीच उच्चस्तरीय रणनीतिक विश्वास पनि कायम रहेको देखाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको वार्षिकोत्सवको समयमा आयोजना गरिएका यी अभ्यासहरू अमेरिका–जापान गठबन्धनविरुद्धको राजनीतिक संकेत पनि भएको रिपोर्टले भनेको छ ।

अभ्यासका क्रममा दुवै पनडुब्बीहरूले काल्पनिक दुश्मन पत्ता लगाउने तालिम गरे र सोनार डेटा एकअर्कासँग साटे ।

उनीहरूले पारस्परिक उद्धार अभ्यास पनि गरे जसमा एक रुसी र एक चिनियाँ उद्धार जहाजले भाग लिएका थिए । ती जहाजहरूले आपतकालीन सन्देशहरूमा प्रतिक्रिया दिए र सहकार्य तथा सूचनाको आदानप्रदान गरे । यसले दुवै देशबीचको सैन्य प्रणालीको आपसी समन्वयको परीक्षण पनि ग‍रेको थियो ।

दुवै देशले यसअघि भएका हवाई रक्षा अभ्यासमा पनि रेडार डेटा साटासाट गरेका थिए र पानीमुनिको युद्ध सम्बन्धी संवेदनशील सेन्सर जानकारी पनि साझा गरेका थिए ।

यी सबै अत्यन्त संवेदनशील सूचनाहरूको आदानप्रदानले दुवै देशबीचको गहिरो सैन्य विश्वास प्रमाणित गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।