
काठमाडौं । १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि १० वटै बैंकमा स्थलगत सुपरीवेक्षण सुरु भएको छ ।
हाउल्याडर युनुस एन्ड कम्पनीको सबै लेखापरीक्षक सहिको टोली आएसँगै आइतबार राष्ट्र बैंकका २ जना र हाउल्याडर युनुस एन्ड कम्पनीको २ जना लेखापरीक्षक सहितको टोलीले १० वटै बैंकमा पुगेर बैंक व्यवस्थापनसँग छलफल गरेको हो । दशैं अगाडिबाट आवश्यक तथ्यांक र विवरण मगाएर काम सुरु गरेको बंगलादेशको लेखापरीक्षण फर्मले आइतबारबाट १० वटै बैंकमा अनसाइट सुपरिवेक्षण सुरु गरेको हो ।
गत चैतको वासलताको आधारमा धेरै कर्जा लगानी रहेका १० ठूला बैंकहरू ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सन्राइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक हुन् । यीनै बैंकका उच्च व्यवस्थापनसँग हाउल्याडरले छलफल गरेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषसँसग भएको विस्तारित कर्जा सुविधाको सर्तअनुसार १० ठूला वाणिज्य बैंकमा अन्तर्राष्ट्रियस्तरको लेखापरीक्षकबाट लोन पोर्टफोलियो रिभ्यु गर्नुपर्ने थियो । जसका लागि नेपाल राष्ट्र बैंकको खरिद प्रक्रियाबाट बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनी छनोट भएको थियो । दशैंअघि नै नेपाल राष्ट्र बैंक र हाउल्याडर युनुस एन्ड कम्पनीले छनोट गरेको केही नेपाली लेखापरीक्षक सहितको टोलीले १० वटै बैंकमा गएर लोन फोटफोलियो रिभ्युको लागि आवश्यक तयारी गरेका थियो ।
राष्ट्र बैंक स्रोतका अनुसार अब केही दिन केन्द्रीय बैंक र हाउल्याडर युनुस एन्ड कम्पनीको संयुक्त टोलीले १० वटै बैंकमा पुगेर कर्जाको फाइलहरुको विस्तृत अध्यन गर्नेछ । कर्जाको फाइल र कोर बैंकिङ सिस्टम समेतका आधारमा कर्जाको सदुपयोग भएको छ कि छैन ? ऋणीले लगानी गरेको परियोजनाको अवस्थाको विश्लेषण मात्रै गरिने छैन, कर्जा भुक्तानी प्रक्रियाको समेत विस्तृत अध्ययन गरिनेछ । साढे २ दर्जन भन्दा धेरै सूचक र विवरणको आधारमा १० वटा बैंकको लोन फोर्टफोलियो रिभ्यु हुनेछ ।
धितोमा आधारित कर्जा भएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था रहेकाले बैंकहरुमा ठूलो समस्या नरहेको विश्वास गरिएको छ ।
तर, नेपालमा एउटा प्रयोजनका लागि कर्जा लिएर अर्को प्रयोजनामा खर्च गर्ने र कतिपय अवस्थामा ऋण तिर्न पनि कर्जाको प्रयोग भएको बैंकरहरु स्वीकार गर्छन्, जुन बैंकिङ अभ्यासमा पाइँदैन । यस्ता विषयषमा भने केही कैफियत हुन सक्नै बैंकरहरु स्वीकार गर्छन् ।
लोन पोर्टफोलियो रिभ्युपछि बैंकहरु भने कर्जा नोक्सानी व्यवस्था थप हुन सक्नेमा चिन्तित देखिन्छन् । नेपालका बैंकहरुले गरेको लगानीमा पर्याप्त धितो सुरक्षण रहेकोले त्यो सकारात्मक रहेको उनीहरूको तर्क छ । तर, कतिपय अवस्थामा ऋण तिर्न थप ऋणको सिमा बढाउने र एउटा प्रयोजनमा लिएको ऋण अर्को प्रयोजनामा खर्च गर्ने तथा अर्को परियोजनाबाट भएके आम्दानीले बैंकको ऋण तिर्ने जस्ता अभ्यास रहेकोले त्यस्तो ऋणलाई धितो सुरक्षण भए पनि लोन पोर्टफोलियो रिभ्यु गर्दा कुन रुपमा विश्लेषण गर्छ भन्ने कुराले भर पर्ने एक बैंकरले बताए ।
आईएमएफले विगत लामो समयदेखि नेपालको बैंकहरुले प्रकाशित गरेको निष्क्रिय कर्जाको तथ्यांकमा आशंका व्यक्त गर्दै आएको थियो । एभरग्रिनिङ गरेर सम्पत्तिको गुणस्तर राम्रो देखाएको आशंका आईएमएफले गर्दै आएको थियो ।







प्रतिक्रिया