लोन पोर्टफोलियो रिभ्युका लागि सम्झौता, अन्तर्राष्ट्रिय अडिटरबाट यी १० बैंकको कर्जा गुणस्तर परीक्षण हुने

861
Shares


काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको एक्स्टेन्सिभ एसेट क्वालिटी रिभ्यु (वृहत् सम्पत्ति गुणस्तर परीक्षण) अर्को सातादेखि सुरु हुने भएको छ ।

खरिद प्रक्रियामा संलग्न भइ छनोट भएको बंगलादेशको लेखा परीक्षक फर्म ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ सँग बिहीबार सम्झौत भएसँगै अर्को साताबाट काम सुरु हुने भएको हो ।

कुल २२ जना अन्तर्राष्ट्रिय लेखापरीक्षणको अनुभव भएका चार्टर्ड एकाउन्टेन्स सहभागी हुने भए पनि बिहीबार सम्झौत गर्न बंगलादेशबाट ४ र नेपालबाट २ गरी ६ जना आएको र अन्य चार्टर्ड एकाउन्टेन्ट समेत आए पनि अर्को साताबाट काम सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

अर्को साताबाट सुरु हुने लोन पोर्टफोलियो रिभ्यु अनसाइट र अफसाइट गरी दुई चरणमा हुने राष्ट्र बैंकले जनाएको छ । पहिलो चरणमा अफसाइट हेर्न र त्यसपछि दोस्रो चरणमा दशैं तिहारपछि स्थलगत निरीक्षण गरी माघ दोस्रो सातासमम अन्तिम रिपोर्ट आउन राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले आह्वान गरेको खरिद प्रक्रियामा ६ वटा लेखापरीक्षण फर्म सहभागी भए पनि प्राविधिक प्रस्तावमा बंगलादेशको लेखा परीक्षक फर्म ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ मात्रै योग्य भएको थियो ।

प्रतिस्पर्धामा रहेका डेलोइट पार्टनर श्रीलंका, हाउल्याडर युनुस एन्ड कम्पनी बंगलादेश, केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस भारत, जेभी मेहेरा जेकेएसएस एसएसबीडीआई जेभी, एमएसके एन्ड एसोसिएट्स भारत र जेभी एसआरबीए एन्ड बिके अग्रवाल एन्ड कम्पनी मध्ये हाउल्याडर प्राविधिक प्रस्तावमा छनोट भएको थियो ।

आर्थिक प्रस्तावमा पनि कम्पनी योग्य भएपछि दावी विरोधका लागि दिएको ७ दिनमा पनि कुनै उजुरी नपरेपछि उक्त कम्पनी छनोट भई राष्ट्र बैंकले सम्झौताको लागि बोलाएको थियो ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा १० वाणिज्य ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने सर्त स्वीकार गरेको थियो । आईएमएफले विगत लामो समयदेखि नेपालको बैंकहरुले प्रकाशित गरेको निष्क्रिय कर्जाको तथ्यांकमा आशंका व्यक्त गर्दै आएको थियो । एभरग्रिनिङ गरेर सम्पत्तिको गुणस्तर राम्रो देखाएको आशंका आईएमएफले गर्दै आएको थियो ।

कोभिडपछि समयमा अत्याधिक आयात बढ्दा विदेशी मुद्रा सञ्चितमा दबाबको अवस्थामा नेपाल सरकारले अन्तराष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधाको सम्झौता गरेको थियो । सोही सम्झौताको सर्तमा १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने उल्लेख थियो ।

सोहीअनुसार खरिद प्रक्रिया अगाडि बढाएपछि पहिलो पटकको खरिद प्रक्रियामा प्राविधक प्रस्तावमा छनोट भएको एक कम्पनी आर्थिक प्रस्तावमा फेल भएपछि पुन खरिद प्रक्रिया सुरु भएकोमा आर्थिक र प्राविधिक दुवै प्रस्तावमा ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ छनोट भएको हो । राष्ट्र बैंकले ७ साउनमा कन्ट्रयाक्ट अवार्डबारे सूचना प्रकाशित गर्दै हाउल्याडरले कन्सल्टेन्सी कार्यका लागि कुल भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर रुपैयाँ जनाएको थियो । जस अनुसार भ्यासहित १० बैंकको पोर्टफोलियो रिभ्युमा कुल ४ करोड ९४ लाख रुपैयाँ खर्च हुनेछ ।

चाडपर्व सुरु हुन लागेकोले सुरुमा बैंकहरुले राष्ट्र बैंकमा रिपोर्टिङ गरेका तथ्यांकको विश्लेषण र दसैं तिहारपछि मात्रै बैंकहरुको स्थलगत अनुमगन सुरु हुने राष्ट्र बैंकले जनाएको छ । गत चैत मसान्तको बैंकहरुको लगानीमा रहेको कर्जाको आधारमा ‘लोन पोर्टफोलियो रिभ्यु’ हुने छ ।
हाउल्याडर युनुस एन्ड कम्पनीले ‘लोन पोर्टफोलियो रिभ्यु’ को लागि उपलब्ध हुने २२ जनाको नाफा उपलब्ध गराइसकेको छ । जसमा २० जना बंगलादेशी छन् भने २ जना नेपाली छन् । रिभ्युका लागि नेपाल राष्ट्र बैंकले पनि सपोर्टिङ जनशक्ति उपलब्ध गराउनेछ । १० वटै बैंकमा एकैपटक काम सुरु हुने र हरेक बैंकमा २ जना हाउल्याडर युनुस एन्ड कम्पनीका प्रतिनिधि र २ जना राष्ट्र बैंकका प्रतिनिधि सहितको टोलीले काम गर्नेछन् । बंगलादेशी र नेपाली प्रतिनिधिमा अन्तर्राष्ट्रिय लेखापरीक्षणको अनुभव भएको आधारमा कम्पनीले प्रस्ताव गरेको नाम छनोट भएको थियो ।

लोन पोर्टफोलियो रिभ्युपछि बैंकहरु भने कर्जा नोक्सानी व्यवस्था थप हुन सक्नेमा चिन्तित देखिन्छन् । नेपालका बैकहरुले गरेको लगानीमा पर्याप्त धितो सुरक्षण रहेकोले त्यो सकारात्मक रहेको उनीहरूको तर्क छ । तर, कतिपय अवस्थामा ऋण तिर्न थप ऋणको सिमा बढाउने र एउटा प्रयोजनमा लिएको ऋण अर्को प्रयोजनामा खर्च गर्ने तथा अर्को परियोजनाबाट भएके आम्दानीले बैंकको ऋण तिर्ने जस्ता अभ्यास रहेकोले त्यस्तो ऋणलाई धितो सुरक्षण भए पनि लोन पोर्टफोलियो रिभ्यु गर्दा कुन रुपमा विश्लेषण गर्छ भन्ने कुराले भर पर्ने एक बैंकरले बताए ।

गत चैतको वासलताको आधारमा धेरै कर्जा लगानी रहेका १० ठूला बैंकहरू ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सन्‌राइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक हुन् ।