
काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको एक्स्टेन्सिभ एसेट क्वालिटी रिभ्यु (वृहत् सम्पत्ति गुणस्तर परीक्षण) भदौ दोस्रो सातादेखि सुरु हुने भएको छ । भदौ दोस्रो साताबाट सुरु गरी डिसेम्बर अन्तिम (पुससम्म) सक्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आह्वान गरेको खरिद प्रक्रियामा ६ वटा लेखापरीक्षण फर्म सहभागी भए पनि प्राविधिक प्रस्तावमा बंगलादेशको लेखा परीक्षक फर्म ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ मात्रै योग्य भएको थियो ।
प्रतिस्पर्धामा रहेका डेलोइट पार्टनर श्रीलंका, हाउल्याडर युनुस एन्ड कम्पनी बंगलादेश, केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस भारत, जेभी मेहेरा जेकेएसएस एसएसबीडीआई जेभी, एमएसके एन्ड एसोसिएट्स भारत र जेभी एसआरबीए एन्ड बिके अग्रवाल एन्ड कम्पनी मध्ये हाउल्याडर प्राविधिक प्रस्तावमा छनोट भएको थियो ।
आर्थिक प्रस्तावमा पनि कम्पनी योग्य भएपछि दावी विरोधका लागि दिएको ७ दिनमा पनि कुनै उजुरी नपरेपछि उक्त कम्पनी छनोट भएको राष्ट्र बैंकले जनाएको छ ।
‘प्राविधिक र आर्थिक प्रस्तावमा समेत योग्य भएपछि ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ माथि दाबी विरोधको लागि दिएको ७ दिनको समयमा पनि कुनै उजुरी परेन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘खरिद प्रक्रिया अनुसार दाबी विरोध नपरेपछि कम्पनीलाई छनोट भएको जानकारी दिए सम्झाताको लागि बोलाएका छौं । १५ दिनको उक्त अवधिमा कम्पनी सम्झौता गर्न आउनेछ ।’
सम्झौता गर्न नेपाल आएपछि कम सुरु गर्ने जानकारी अनौपचारिक रुपमा गराएकाले भदौ पहिलो सातासम्म सम्झौता गरेर दोस्रो सातादेखि काम सुरु गर्ने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा १० वाणिज्य ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने सर्त स्वीकार गरेको थियो । आईएमएफले विगत लामो समयदेखि नेपालको बैंकहरुले प्रकाशित गरेको निष्क्रिय कर्जाको तथ्यांकमा आशंका व्यक्त गर्दै आएको थियो । एभरग्रिनिङ गरेर सम्पत्तिको गुणस्तर राम्रो देखाएको आशंका आईएमएफले गर्दै आएको थियो ।
कोभिडपछि समयमा अत्याधिक आयात बढ्दा विदेशी मुद्रा सञ्चितमा दबाबको अवस्थामा नेपाल सरकारले अन्तराष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधाको सम्झौता गरेको थियो । सोही सम्झौताको सर्तमा १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने उल्लेख थियो ।
सोहीअनुसार खरिद प्रक्रिया अगाडि बढाएपछि पहिलो पटकको खरिद प्रक्रियामा प्राविधक प्रस्तावमा छनोट भएको एक कम्पनी आर्थिक प्रस्तावमा फेल भएपछि पुन खरिद प्रक्रिया सुरु भएकोमा आर्थिक र प्राविधिक दुवै प्रस्तावमा ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ छनोट भएको हो । राष्ट्र बैंकले ७ साउनमा कन्ट्रयाक्ट अवार्डबारे सूचना प्रकाशित गर्दै हाउल्याडरले कन्सल्टेन्सी कार्यका लागि कुल भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर रुपैयाँ जनाएको थियो । जस अनुसार भ्यासहित १० बैंकको पोर्टफोलियो रिभ्युमा कुल ४ करोड ९४ लाख रुपैयाँ खर्च हुनेछ ।
उक्त खरिद प्रक्रियालाई अन्तिम रूप सम्झौताको लागि बोलाएको १५ दिनको समय भदौ पहिलो सातासम्ममा सकिने भएकोले सोही मितिभित्र सम्झौता हुने राष्ट्र बैंकले जनाएको छ । त्यसपछि भदौ दोस्रो साताबाट कम्पनीले १० बैंकको लोन पोर्टफोलियोको काम सुरु गर्नेछ ।
चाडपर्व सुरु हुन लागेकोले सुरुमा बैंकहरुले राष्ट्र बैंकमा रिपोर्टिङ गरेका तथ्यांकको विश्लेषण र दसैं तिहारपछि मात्रै बैंकहरुको स्थलगत अनुमगन सुरु हुनसक्ने राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुख रोशन कुमार सिग्देल बताउँछन् । गत चैत मसान्तको बैंकहरुको वासलताको आधारमा ‘लोन पोर्टफोलियो रिभ्यु’ हुने १० बैंकको सूची बैंक सुपरीवेक्षण विभागले तयार गर्ने उनले बताए ।
खरिद प्रक्रियाको काम मात्रै विभागले गर्ने र अन्य लोन पोर्टफोलियो रिभ्युको काम बैंक सुपरीवेक्षण विभागले गर्ने उनले बताए । हाउल्याडर युनुस एन्ड कम्पनीले ‘लोन पोर्टफोलियो रिभ्यु’ को लागि उपलब्ध हुने २२ जनाको नाफा उपलब्ध गराइसकेको छ । जसमा २० जना बंगलादेशी छन् भने २ जना नेपाली छन् । रिभ्युका लागि नेपाल राष्ट्र बैंकले पनि सपोर्टिङ जनशक्ति उपलब्ध गराउनेछ । १० वटै बैंकमा एकैपटक काम सुरु हुने र हरेक बैंकमा २ जना हाउल्याडर युनुस एन्ड कम्पनीका प्रतिनिधि र २ जना राष्ट्र बैंकका प्रतिनिधि सहितको टोलीले काम गर्ने उनले बताए । बंगलादेशी र नेपाली प्रतिनिधिमा अन्तर्राष्ट्रिय लेखापरीक्षणको अनुभव भएको आधारमा कम्पनीले प्रस्ताव गरेको नाम छनोट भएको उनको भनाइ छ ।
लोन पोर्टफोलियो रिभ्युपछि बैंकहरु भने कर्जा नोक्सानी व्यवस्था थप हुन सक्नेमा चिन्तित देखिन्छन् । नेपालका बैकहरुले गरेको लगानीमा पर्याप्त धितो सुरक्षण रहेकोले त्यो सकारात्मक रहेको उनीहरूको तर्क छ । तर, कतिपय अवस्थामा ऋण तिर्न थप ऋणको सिमा बढाउने र एउटा प्रयोजनमा लिएको ऋण अर्को प्रयोजनामा खर्च गर्ने तथा अर्को परियोजनाबाट भएके आम्दानीले बैंकको ऋण तिर्ने जस्ता अभ्यास रहेकोले त्यस्तो ऋणलाई धितो सुरक्षण भए पनि लोन पोर्टफोलियो रिभ्यु गर्दा कुन रुपमा विश्लेषण गर्छ भन्ने कुराले भर पर्ने एक बैंकरले बताए ।
गत चैतको वासलताको आधारमा कर्जा लगानीमा १० ठूला बैंकहरू ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सन्राइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक हुन् ।








प्रतिक्रिया