मोन्था कमजोर भएपनि बाहिरिएको छैन, मध्य र पूर्वी भेगमा झरी लम्बियो, भोली बिहानदेखि घाम लाग्ने सम्भावना

1.1k
Shares

काठमाडौं । काठमाडौंसहित देशका मध्य र पूर्वी भागमा झरी लम्बिएको छ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार मौसमी पूर्वानुमानका तीनवटा मोडेल (सुत्रहरु) को संयुक्त अध्ययन अनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अपेक्षा गरिएको थियो ।

‘तर त्यसो हुन सकेन, यसका पछाडि मुख्य केहि कारणहरू छन्,’ उपाध्यायले भने । उनका अनुसार भोली (आइतबार) बिहानदेखि घाम लाग्ने सम्भावना छ ।

यस्तो छ मौसमविद् उपाध्यायले सामाजिक सञ्जालमा उपलब्ध गराएको मौसमसम्बन्धी जानकारी :

काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। मौसमी पूर्वानुमानका तीनवटा मोडेल (सुत्रहरु) को संयुक्त अध्ययन अनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन।

मुख्य कारणहरू यसप्रकार छन :

मोन्था आँधी बिहिबारदेखी कमजोर भएपछी, सोमबारदेखि सक्रिय रहेको (तर नबाहिरिएको) पश्चिमी वायुसँग यसको मिश्रण भई एक ठूलो संयुक्त प्रणाली बनेको छ, जसले व्यापक क्षेत्र ढाकेको छ ( तस्विरमा सेतो भाग)।


यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै
बंगालको खाडीतर्फ (पहेँलो धर्को) सर्नुपर्ने भए पनि, बंगालको खाडी नजिकै थाइल्याण्ड्को दक्षीणी भू-भागमा निर्मित र हाल बाङ्ग्लादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा (उत्तर-पश्चिम तर्फ) धकेलियो (रातो घेरा भित्र) ।

यसैबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पुर्व तर्फ अगाडि बढिरहेको छ। अत: अहिले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट (निलो धर्को) जलवाष्पयुक्त वायुको दबाव परेको अवस्था छ, जसका कारण वर्षागराउने बादलको ठुलोहिस्सा अहिले गण्डकी-बागमती-कोशी क्षेत्रमा ‘टसमस’ नगरी बसेको छ र लगातार वर्षा भइरहेको छ । हावामा जलवाष्पको मात्रा अत्यधिक भएको हुँदा वर्षा रोकिएको बेला पनि शीत परेजस्तो मसिना पानीका कण झरीरहेका छन ।

अब के हुन्छ :
यस्तो अवस्थामा हल्का झरीमात्रै पर्ने र ठुलोवर्षा हुँदैन त्यसैले बाढीको जोखिम भने अत्यन्त न्यून हुन्छ । धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकोले अब यो प्रणाली कती बेर रहन्छ भन्न त्यती सजिलो भने छैन । तर बादलको घनत्व घट्ने क्रममा रहेको ले अबको १२ घण्टामा मौसम मा उल्लेख्य सुधार आउनु पर्ने हो । साँझ सम्म वर्षा पूर्ण रुपमा रोकिने र भोली बिहानै देखी घाम लाग्ने सम्भावना भने धेरै छ ।