आणविक हतियार परीक्षण गरेर शीतयुद्ध फर्काउन खोज्दैछन् ट्रम्प

308
Shares

एजेन्सी । विश्वका शक्तिशाली मुलुकहरूबीच फेरि शीतयुद्धको भूत जाग्दैछ, त्यो पनि हलोविनको बेलामा ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक ऊर्जाबाट चल्ने टोर्पिडो र नयाँ क्रुज क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसमा टिप्पणी गरेका छन् ।

ट्रुथ सोसल प्लेटफर्ममा लामो पोस्ट लेख्दै ट्रम्पले घोषणा गरे, ‘अन्य देशहरूले गरेका परीक्षण कार्यक्रमहरूका कारण मैले युद्ध विभागलाई समान आधारमा हाम्रो आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएको छु । त्यो प्रक्रिया अहिलेबाट नै सुरु हुनेछ ।’

विश्वभरिका आाणविक निगरानी संस्था र विज्ञहरू ट्रम्पको उक्त घोषणापछि के हुने हो भनेर सोचिरहेका छन् । उनले के भन्न खोजेको हो भनेर पनि मानिसहरू अचम्ममा परेका छन् । अमेरिकाले वर्षौंदेखि कुनै आणविक हतियार परीक्षण गरेको छैन ।

‘सबैभन्दा पहिले त उक्त पोस्टमा उल्लेख गरिएको प्रत्येक कुरा गलत छ,’ हार्वर्ड विश्वविद्यालयका आाणविक हतियारविद् म्याथ्यू बुनले बताए ।

‘अमेरिकासँग विश्वकै सबैभन्दा धेरै आणविक हतियार छन् भन्ने कुरा गलत हो । अन्य मुलुकहरूले हाल आणविक परीक्षण गरिरहेका छन् भन्ने पनि गलत हो । ट्रम्पले सोचेजस्तो रक्षा मन्त्रालयले नभई ऊर्जा मन्त्रालयले आणविक परीक्षण सञ्चालन गर्छ,’ उनले थपे ।

ट्रम्पले अमेरिकाको आणविक हतियार चलाउने यूएस स्ट्राटेजिक कमान्ड प्रमुखका लागि मनोनयन गरेका आफ्नै उम्मेदवार पनि राष्ट्रपति के गर्न खोज्दै छन् भन्नेबारे स्पष्ट छैनन् ।

सिनेटको सशस्त्र सेवा समितिमा बिहीबार भएको नियुक्ति सुनुवाइमा जलसेना भाइस एडमिरल रिचर्ड कोरेलले चीन वा रुसले आणविक विस्फोटको परीक्षण नगरेको बताए । त्यसैले यसमा केही पनि अर्थ ननिकालिरहेको उनको भनाइ छ ।

सेन्टर फर आर्म्स कन्ट्रोल एन्ड ननप्रोलिफरेशनका अनुसार, आणविक परीक्षण भन्नाले सामान्यतया बम वा वारहेड जस्ता परमाणु उपकरणको नियन्त्रित विस्फोटलाई जनाइन्छ र रुसले गरेको क्षेप्यास्त्र तथा टोर्पिडो परीक्षण उक्त परिभाषामा पर्दैन ।

जोन वुल्फस्थल जो बाइडेन र बाराक ओबामाका आणविक सल्लाहकार थिए । अमेरिका सहित अन्य देशहरू पहिले नै यस्तै कार्यक्रमहरूमा संलग्न रहेको उनको भनाइ छ ।

‘रुस, अमेरिका र चीन सबैले नयाँ आणविक डेलिभरी प्लेटफर्महरू क्षेप्यास्त्र, बमवर्षक विमान, पनडुब्बी विकास गर्नमा दसौं अर्ब डलर खर्च गर्दैछन्,’ वुल्फस्थलले भने ।

‘हामी फेरि शीतयुद्धको हतियार–दौडतर्फ फर्किएका छौं जहाँ दुवै पक्षले आणविक हतियारलाई अत्यावश्यक ठान्छन्,’ उनले थपे ।

तर, ट्रम्प साँच्चिकै आणविक हतियार परीक्षण पुनः सुरु गर्न चाहन्छन् भने त्यसका जटिलता गहिरा र व्यापक रहेको विशेषज्ञहरू बताउँछन् ।

पहिलो कुरा, लगभग सबै आणविक हतियार भएका मुलुकहरूले दशकौंदेखि यस्तो परीक्षण नगर्ने सहमति गरेका छन् ।
रुसले आफ्नो अन्तिम परीक्षण सन् १९९० मा, अमेरिकाले १९९२ मा र चीनले १९९६ मा गरेको थियो ।

यस शताब्दीमा आणविक विस्फोट गर्ने एक मात्र देश उत्तर कोरिया हो र त्यसले प्योङयाङलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याएको छ ।

अमेरिकामा नयाँ परीक्षण सुरु गर्दा राजनीतिक जोखिम मात्र नभई प्राविधिक चुनौती पनि खेप्नुपर्ने हुन्छ ।

यस्ता परीक्षण सुरक्षित रूपमा आयोजना गर्न वर्षौँको तयारी लाग्ने र त्यसपछि पनि उपयोगी जानकारी धेरै प्राप्त नहुन सक्ने संघीय अध्ययनहरूले देखाएका छन् ।

अमेरिकाले नियमित रूपमा परमाणु हतियारका घटकहरू अत्यन्तै गहिरो रूपमा परीक्षण गर्छ । त्यसकारण अमेरिका संसारकै सबैभन्दा ठूलो आणविक ज्ञानभण्डार भएको राष्ट्र मानिन्छ ।

ट्रम्पले परीक्षणको नयाँ युग सुरु गरे भने त्यसले अन्य कुनै पनि देशलाई पनि पछ्याउन प्रेरित गर्ने र त्यसले हतियारको दौड थप खतरनाक बनाउने आलोचकहरू बताउँछन् ।

‘सबैभन्दा बढी फाइदा चीनलाई हुनेछ,’ बुनले बताए ।

‘रणनीतिक दृष्टिले हेर्दा अमेरिकाका लागि यसको कुनै अर्थ छैन,’ सेन्टर फर आर्म्स कन्ट्रोल एन्ड ननप्रोलिफरेशनका प्रमुख र पूर्व डेमोक्य्राट सांसद जोन टियरनीले बताए ।

आणविक हतियारविद्हरू रुस र चीन दुवैले आफ्नो आणविक महत्त्वाकांक्षा पहिलेदेखि नै बढाइरहेको बताउँछन् ।

केही राजनीतिक विश्लेषकहरूका अनुसार, ट्रम्पले कठोर बयानमार्फत उनीहरूलाई हतियार दौडबाट पछि हटाउन चाहेका हुन् । उनी आफैंले पनि त्यो संकेत दिएका छन् ।

‘म आणविक निःशस्त्रीकरण देख्न चाहन्छु,’ ट्रम्पले बताए, ‘हामी वास्तवमा रुससँग यसबारे कुरा गर्दैछौं र केही गर्दा त्यसमा चीनलाई पनि समावेश गर्नेछौं ।’

रक्षा मन्त्रालय र ह्वाइट हाउस दुवैले हालसम्म उक्त योजनाको विस्तृत विवरण दिएका छैनन् ।

तर, राष्ट्रपति ट्रम्पको निरन्तर बदलिँदो भनाइ निकै चिन्ताजनक रहेको टियरनी बताउँछन् ।

उनका अनुसार, पहिले नै तनावपूर्ण अन्तर्राष्ट्रिय वातावरणमा ट्रम्पले अझ अस्थिरता थपिरहेका छन् । त्यो आफैंमा विस्फोटक हुन सक्ने उनको भनाइ छ ।

‘एक दिन उनी सबैलाई आणविक हतियार हटाउन चाहन्छन्,’ टियरनीले भने, ‘भोलिपल्ट उनी परीक्षण सुरु गर्न चाहन्छन् । यो खतरनाक छ ।’