
एजेन्सी । भारत र अमेरिकाले १० वर्षे रक्षा रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सम्झौताले यी दुई देशबीच बढ्दो साझेदारीमा नयाँ युगको सुरुवातको संकेत गरेको छ ।
सम्झौता मलेसियाको राजधानी क्वालालम्पुरमा भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी रक्षामन्त्री पिट हेगसेथबीच आदानप्रदान गरिएको हो । यसले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीका लागि दीर्घकालीन नीतिगत दिशानिर्देशन प्रदान गर्छ ।
नयाँ दिल्ली र वाशिङटनबीच विस्तार हुँदै गएको रणनीतिक सम्बन्धलाई यसले झल्काउँछ । सम्झौताको घोषणा गर्दै हेगसेथले यसलाई ऐतिहासिक उपलब्धि भनेर वर्णन गरे । दुई राष्ट्रबीचको रक्षा सम्बन्ध कहिल्यै यति बलियो भएको थिएन भनी उनले टिप्पणी गरे ।
भारतका रक्षामन्त्री सिंहले पनि यही भावना व्यक्त गर्दै हेगसेथसँगको आफ्नो भेटलाई फलदायी भने । नयाँ रूपरेखाले दुई देशबीचको द्विपक्षीय रक्षा सहयोगमा नयाँ युगको सुरुवात गर्नेमा जोड दिए ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सिंहले लेखे, ‘अमेरिकी समकक्षी पिटर हेगसेथसँग क्वालालम्पुरमा फलदायी भेट भयो ।हामीले १० वर्षे ‘अमेरिका–भारत प्रमुख रक्षा साझेदारीका लागि रूपरेखा’मा हस्ताक्षर गर्यौं । यसले हाम्रो पहिलेदेखि नै मजबुत रहेको रक्षा साझेदारीमा नयाँ युग ल्याउनेछ । यस रूपरेखाले भारत–अमेरिका रक्षा सम्बन्धको सम्पूर्ण दायरालाई नीतिगत दिशानिर्देशन प्रदान गर्नेछ । यो हाम्रो बढ्दो रणनीतिक सामन्जस्यको संकेत हो र यस साझेदारीको नयाँ दशकको सुरुवात गर्नेछ । रक्षा हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भ रहिरहनेछ । हाम्रो साझेदारी स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्र सुनिश्चित गर्नका लागि अत्यन्त महत्त्वपूर्ण छ ।’
हेगसेथले पनि एक्समा लेखे, ‘मैले अहिले राजनाथ सिंहसँग भेट गरेर १० वर्षे अमेरिका–भारत रक्षा रूपरेखामा हस्ताक्षर गरें । यसले हाम्रो रक्षा साझेदारीलाई अझ अगाडि बढाउँछ जुन क्षेत्रीय स्थायित्व र निवारणको मुख्य आधार हो । हामी समन्वय, सूचना आदानप्रदान र प्रविधि सहकार्यलाई सुदृढ गर्दैछौं । हाम्रो रक्षा सम्बन्ध कहिल्यै यति बलियो भएको थिएन ।’
क्वालालम्पुरमा आयोजित आसियान–भारत रक्षामन्त्रीहरूको अनौपचारिक बैठकको साइडलाइनमा दुवै नेताबीचको भेट भएको थियो । यो अनौपचारिक सत्र नोभेम्बर १ मा तोकिएको आसियान रक्षामन्त्रीहरूको बैठक प्लसअघि सम्पन्न भएको हो । त्यसमा क्षेत्रीय सुरक्षा र सहकार्य प्रमुख छलफलका विषय हुनेछन् ।
यो उच्चस्तरीय भेटवार्ताले भारत–अमेरिका रक्षा सहकार्यमा निरन्तर देखिएको गतिलाई प्रतिबिम्बित गरेको छ । दुवै राष्ट्रको साझा प्रतिबद्धतालाई यसले पुनर्पुष्टि गरेको छ । क्षेत्रीय स्थायित्व, समुद्री सुरक्षा र हिन्द–प्रशान्त क्षेत्रमा नियममा आधारित व्यवस्थाको रक्षा गर्ने दिशामा यो सम्झौता महत्त्वपूर्ण मानिएको छ ।








प्रतिक्रिया