
काठमाडौं । विदेश जान चाहने नेपाली नागरिकका लागि अध्यागमनको प्रक्रियामा सुधार भएको नयाँ व्यवस्था लागू भएको छ। गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अध्यागमन नियमावली, २०७७ को नियम २१ उपनियम (२०) खण्ड (क) कार्यान्वयनमा गरेर विदेशी रोजगारीका नाममा अवैध रूपमा बाहिरिन खोज्ने नागरिकलाई अध्यागमनमै सचेत गराउने र नियन्त्रण गर्ने नीति लागू भएको हो ।
नयाँ व्यवस्था अनुसार विविध प्रयोजनका लागि विदेश यात्रा गर्न चाहने नेपालीको उद्देश्य र प्रक्रियालाई व्यवस्थित गर्न, अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको व्यवहारमा सुधार ल्याउन र सम्पूर्ण अध्यागमन प्रशासनलाई पारदर्शी बनाउने उल्लेख छ । अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीले सकारात्मक परिवर्तन ल्याउने प्रयास यस व्यवस्थबाट गरेका छन् ।
विभागका अनुसार अध्यागमन प्रशासनलाई पूर्ण रूपमा सूचना प्रविधिमैत्री बनाउन तालिम, दक्षता अभिवृद्धि र सफ्टवेयर सुधारका काम अघि बढाइएको छ । अध्यागमन कार्यालयहरूमा स्थायी रूपमा सूचना प्रविधि अधिकृत तोक्ने तयारीसमेत गरिएको छ ।
नेपाल प्रवेश गर्ने विदेशी नागरिकको आगमन प्रयोजनअनुसार अध्यागमन नियमन र नियन्त्रणलाई प्रभावकारी बनाउन र कार्यहरू छिटोछरितो पार्ने उद्देश्यले अध्यागमन प्रक्रियाको प्रमाणीकरणलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।
अध्यागमन र भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समिति, २०८२ ले संविधानले प्रदत्त नागरिकका मौलिक हक र स्वतन्त्र आवतजावतको अधिकारलाई सुनिश्चित गर्न तथा भिजिट भिसाका नाममा हुने गलत क्रियाकलाप रोक्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा २०८० माघ १० गतेदेखि लागू भएको छ बुँदे मापदण्ड र त्यसअघि जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गर्दै नयाँ व्यवस्था लागू गरिएको हो ।
गृह मन्त्रालयको २०८२ असोज १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट अब भिजिट भिसामा प्रस्थान गर्न चाहने नेपालीले तलका कम्तीमा ६ महिना वैधता भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा प्रवेशाज्ञा नचाहिने देशको प्रमाण, गन्तव्यसम्मको हवाई टिकट र भ्रमण प्रयोजनका लागि आफू जिम्मेवार रहने स्वघोषणा गरे पुग्ने भएको छ ।








प्रतिक्रिया