यौन अपराधी एप्स्टिइनसँगको सम्बन्धले गुम्यो दरबार: बेलायती राजाका भाइबाट सबै उपाधि खोसियो

546
Shares

एजेन्सी । बेलायतका राजकुमार एन्ड्र्यु अब आफ्नो ‘प्रिन्स’ उपाधि गुमाउँदै छन् र उनले विन्डसर दरबारको रोयल लज पनि छाड्नुपर्ने भएको छ । यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण भइरहेको गम्भीर छानबिनपछि यो निर्णय लिइएको बीबीसीले जनाएको छ ।

बिहीबार राति जारी विज्ञप्तिमा बकिङ्घम दरबारले अब राजाका भाइलाई ‘एन्ड्र्यु माउन्टब्याटन विन्डसर’ नामले चिनिने जनाएको छ ।

एन्ड्र्युले आफ्नो निजी जीवनबारे उठेका प्रश्नबीच यसै महिनाको सुरुवातमा अन्य राजकीय उपाधिहरू पनि त्यागेका थिए, जसमा ‘ड्युक अफ यर्क’ पनि सामेल थियो ।

यसै महिनाको सुरुवातमा वर्जिनिया गियुफ्रेकी मरणोपरान्त जीवनी प्रकाशित भएको थियो । वर्जिनिया किशोरी अवस्थामा हुँदा उनले तीन फरक अवसरमा प्रिन्स एन्ड्र्युसँग यौन सम्बन्ध राख्नुपरेको किताबमा उल्लेख गरिएको छ । तर एन्ड्र्युले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो घटनाक्रममा प्रतिक्रिया जनाउँदै गियुफ्रेका परिवारले भने, ‘उनले आफ्नो सत्य र असाधारण साहसका साथ एक ब्रिटिश राजकुमारलाई झुकाउन सफल भइन्।’

बकिङ्घम दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजाले आज प्रिन्स एन्ड्र्युका उपाधि, सम्मान र दर्जा औपचारिक रूपमा फिर्ता लिने प्रक्रिया सुरु गरेका छन् ।’

दरबारले ‘अब रोयल लजको लिज (भाडा सम्झौता) फिर्ता गर्न औपचारिक नोटिस जारी गरिएको’ जनाएको छ ।

एन्ड्र्युलाई अब स्यान्ड्रिङ्घम इस्टेटमा रहेको निजी आवासमा बस्न व्यवस्था गरिएको छ, जसको खर्च राजा चार्ल्सले आफैं वहन गर्ने बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यी कदमहरू आवश्यक ठहरिएका हुन्, यद्यपि उनले आफ्ना विरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन्।’

दरबारले यो पनि जोड दिएको छ कि ‘दरबार हरेक प्रकारका शोषणका पीडितहरूका पक्षमा उभिएको छ ।’

छोरीहरूको उपाधि कायम रहने

एन्ड्र्युकी दुई वयस्क छोरी युजिन र बियाट्रिसलाई दिइएको ‘प्रिन्सेस’ उपाधि भने यथावत रहनेछ र एन्ड्र्यु अझै पनि राजगादीको उत्तराधिकारी सूचीमा आठौं स्थानमा छन् ।

त्यस्तै, एन्ड्र्युकी पूर्वपत्नी सारा फर्ग्युसन पनि अब रोयल लजबाट बाहिरिने र बसोबासको छुट्टै व्यवस्था गर्ने तयारीमा रहेको बुझिएको बीबीसीले जनाएको छ।

यस महिनासम्म सारा ‘डचेस अफ यर्क’ उपाधिले चिनिन्थिन्, तर एन्ड्र्युले ‘ड्युक अफ यर्क’ उपाधि त्यागेपछि उनले विवाहअघि प्रयोग गरेको ‘फर्ग्युसन’ थर पुनः ग्रहण गरेकी छन् ।

एन्ड्र्युसँग ‘प्रिन्स’ उपाधि फिर्ता लिने निर्णयअघि ब्रिटिश सरकारसँग पनि छलफल गरिएको र सरकारले उक्त निर्णयको समर्थन गरेको बुझिएको छ ।

बीबीसीको कार्यक्रम ‘क्वेश्चन टाइम’मा यस घटनाबारे बोल्दै बेलायतकी संस्कृति मन्त्री लिसा नान्दीले भनिन्, ‘यो ग्रुमिङ र यौन अपराधका पीडितहरूको पक्षमा एक सशक्त सन्देश हो ।’

उनले थपिन्, ‘यो ठूलो घटनाक्रम हो र राजाका लागि पनि साहसिक कदम हो। प्रारम्भिक प्रतिक्रियाको रूपमा म यो निर्णयको पूर्ण समर्थन गर्छु ।’

बढ्दो दबाबको परिणाम

एन्ड्र्युका राजकीय उपाधिहरू फिर्ता लिने निर्णय पछिल्ला केही सातादेखि शाही परिवारमाथि बढ्दै गएको दबाबको परिणाम हो।

एन्ड्र्यु र यौन अपराधी जेफ्री एप्स्टिनबीचको सम्बन्धबारे विवाद तीव्र भयो जब वर्जिनिया गियुफ्रेको जीवनीमा यौन शोषणका आरोपहरू दोहोरिए ।

यद्यपि एन्ड्र्युले यी आरोपहरू अस्वीकार गरेका छन्, यसै महिनाको सुरुवातमा २०११ का केही इमेल सार्वजनिक भएका थिए । जसमा एप्स्टिनसँगको ‘मैत्री अन्त्य’ भएको दाबीका महिनौंपछि पनि उनीहरूबीच सम्पर्क जारी थियो ।

हालै एन्ड्र्युको खर्च र रहनसहनबारे पनि प्रश्न उठ्न थालेका छन् । बिना कुनै आधिकारिक राजकीय भूमिकामा उनी कसरी यति विलासी जीवन बाँचिरहेका छन् भनेर प्रश्न उठिरहेका थिए ।

एन्ड्र्यु सन् २००४ देखि रोयल लजमा बस्दै आएका थिए । सन् २००३ मा उनले क्राउन इस्टेट नामक स्वतन्त्र सम्पत्ति कम्पनीसँग ७५ वर्षका लागि लिज सम्झौता गरेका थिए ।

विन्डसर इस्टेटभित्र रहेको यो ग्रेड–२ लिस्टेड रोयल लज अत्यन्त भव्य छ । यसमा गार्डनरको कुटीर, च्यापल लज, छ बेडरुमको कुटीर र सुरक्षाकर्मीहरूका आवासहरू पनि छन् ।

गत हप्ता एन्ड्र्युले यो दरबारको खर्च कसरी उठाइरहेका छन् भनेर प्रश्न उठिरहेको थियो । बीबीसीले लिज सम्बन्धी कागजात हेर्दा उनले वार्षिक भाडा नतिरेको, बरु एकमुष्ट रकम बुझाएका थिए, जसमा मर्मत र पुनर्निर्माण खर्च पनि समावेश थियो ।

यो रकम ८० लाख पाउण्ड (१ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी) भएको रिपोर्टमा उल्लेख छ । नेशनल अडिट अफिसका अनुसार, यस भुक्तानीले एन्ड्र्युलाई ७५ वर्षका लागि भाडा तिर्नु नपर्ने व्यवस्था दिएको थियो ।

सन् २००६ मा जब एप्स्टिनविरुद्ध अमेरिकामा नाबालिगको यौन शोषणको मुद्दामा पक्राउ वारन्ट जारी भएको थियो, त्यसको दुई महिनापछि नै एन्ड्र्युले उनलाई आफ्नी छोरी बियाट्रिसको जन्मदिन समारोहमा अतिथिका रूपमा रोयल लजमा आमन्त्रण गरेको घटना पनि सार्वजनिक भएको थियो । तर यसबारे एन्ड्र्युले कुनै टिप्पणी गरेका छैनन्।

बिहीबार बकिङ्घम दरबारले गरेको घोषणा एन्ड्र्युका वरिपरिका विवादहरूलाई अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ र अब ‘प्रिन्स एन्ड्र्यु’ होइन, उनी केवल एन्ड्र्यु माउन्टब्याटन विन्डसर बनेका छन् ।