लोबुचेको दुर्घटनापछि कुहिरो र हिउँमा हेलिकोप्टर उडान नगर्न १२ कम्पनीलाई प्राधिकरणको सर्कुलर

231
Shares

काठमाडौं । लोबुचेमा बुधबार बिहान भएको अल्टिच्युड हेलिकप्टरको दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई कुहिरो र हिउँमा हेलिकोप्टर उडान नगर्न सर्कुलर जारी गरेको छ । प्राधिकरणले अल्टिच्युडको ९एन–एएमएस हेलिकोप्टर दुर्घटनापछि हेलिकोप्टर सञ्चालनमा थप सावधानी अपनाउन र जोखिम न्यूनिकरणाका लागि उक्त निर्देशन जारी गरेको हो ।

प्राधिकरणले बिहीबार हाल सञ्चालन अनुमति पाएका १२ वटै हेलिकप्टर कम्पनीसँग सुरक्षा संवेदनशीलताको विषयमा छलफल गरेर उक्त निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको निर्देशन अनुसार अबदेखि सेतो हिउँका कारण दृश्यता हराउने र कुहिरो लागेको अवस्थामा कुनै पनि व्यावसायिक उडान गर्न नपाइने गरी हेलिकप्टर सेवाप्रदायकलाई सर्कुलर गरेको छ ।

प्राधिकरणले गरेको यस्तो सर्कुलरमा हिउँ पर्ने मौसममा हिमाली क्षेत्रमा सञ्चालन हुने उडानका लागि हेलिकोप्टरका स्किडमा ‘बेयर पज’ अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ ।

उच्च स्थानमा हुने बारम्बारका उडानमा भूमिगत समन्वय र सुरक्षाका लागि सकेसम्म प्रत्येक उडानमा ‘मार्शलर’ तोक्नुपर्ने व्यवस्था पनि गरेको छ ।

प्राधिकरणले उच्च हिमाली क्षेत्रमा हुने हेलिकोप्टर उडानलाई थप सुरक्षित बनाउन गरेको निर्देशन अनुसार हिउँले ढाकिएका हेलिप्याडमा कुनै पनि उडान अघि हिउँ र अवतरणमा अवरोध गर्ने कुनै वस्तु हटाएर मात्रै हेलिकप्टर ल्याण्ड गर्नुपर्ने छ । यसका लागि हेलिप्याड वरिपरिको क्षेत्रसमेत सफा हुनुपर्ने छ ।