सरकारको सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, तीन महिनामै ९० अर्ब आन्तरिक ऋण परिचालन

63
Shares

काठमाडौं । सरकारको सार्वजनिक ऋण दायित्व २७ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै १ खर्ब बढी सार्वजनिक ऋण परिचालन गर्दा कुल ऋण २७ खर्ब रुपैयाँ नाघेको हो ।

सरकारको चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक र २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बाह्य गरी कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ८५ करोड रुपैयाँ ऋण परिचालन गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब रुपैयाँ र बाह्य ऋण १० अर्ब ८५ करोड रुपैयाँ परिचालन भएको छ ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १६ दशमलव ९३ प्रतिशत रहेको छ । जसमध्ये आन्तक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः २४ दशमलव ८६ र ४ दशमलव ६४ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमश ८९ दशमलव २४ र १०.७६ प्रतिशत रहेको छ ।

यससँगै सरकारको कुल सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा २६ अर्ब ७४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण दायित्व पुगेको थियो । चालु आर्थिक वर्ष लागेपछि सरकारले १ खर्ब८५ करोड ऋण परिचालन गर्दा ९० अर्ब ५१ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा बाह्य विनिमय दर उतारचढावका कारण बाह्य ऋणको दायित्व ४० अर्ब २७ करोड रुपैयाँले बढेको छ । जसले गर्दा सरकारको कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब रुपैयाँ भन्दा माथि पुगेको हो ।

जुन कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा आश्विन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्र्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेको थियो । असोज मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको कार्यालयले जानकारी दिएको ।

सार्वजनिक ऋणको साँवा भुक्तानिको लागि ३ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ र ब्याज भुक्तानीको लागि १ खर्ब ८ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये असोज मसान्तसम्म सार्वजनिक ऋणको सावाँ भुक्तानीमा ९० अर्ब र ब्याज भुक्तानीमा १९ अर्ब रुपैयाँ खर्च भएको छ ।