दक्षिण कोरियाले ट्रम्पलाई उपहारमा दियो राजमुकुट

175
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार दक्षिण कोरिया पुग्दा राजाको जस्तो स्वागत पाएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले ट्रम्पलाई खुशी बनाउनका लागि राजमुकुट उपहार दिएका छन् ।

ट्रम्पले आफूलाई राजा ठान्ने गरेका छन् । उनले टाइम पत्रिकाको नक्कली कभर बनाएर सुनको राजमुकुट लगाएको फोटो पोहोर सार्वजनिक गरेका थिए ।

लीले एसिया प्यासिफिक इकोनोमिक कोअपरेशनको शिखर सम्मेलन आयोजना भइरहेको ग्योङ्जु शहरमा रहेको राष्ट्रिय संग्रहालयमा प्राचीन कोरियाली अधिराज्यका राजाको राजमुकुटको रेप्लिका ट्रम्पलाई उपहारमा दिएका थिए ।

सक्कली राजमुकुट एक हजार वर्षभन्दा पुरानो छ र त्यसलाई सन् १९७० को दशकमा च्योनमाचोङ चिहानबाट उत्खनन गरिएको हो । यसलाई कोरियाको राष्ट्रिय सम्पत्ति मानिन्छ ।

यस राजमुकटले स्वर्गका अधिकारी र धर्तीका सार्वभौम शासकबीचको दैवीय सम्बन्धलाई प्रतिनिधित्व गर्नुका साथै बलियो नेतृत्वको संकेत पनि दिने भनी दक्षिण कोरियाका एक अधिकारीले ट्रम्पलाई जानकारी दिएका थिए ।

कोरिया र अमेरिकाबीच साझेदारीको सुनौलो युगको पहिचान गर्नका लागि राष्ट्रपति लीले राजमुकुट उपहारमा दिएको पनि ती अधिकारीले बताए ।

लीले ट्रम्पलाई दक्षिण कोरियाको सर्वोच्च सम्मान ग्रान्ड अर्डर अफ मुगुङह्वा पनि अर्पण गरेको छ ।

ट्रम्पले लीलाई यी उपहारका लागि धन्यावद दिए । कोरियाको सर्वोच्च सम्मान पाउने पहिलो अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्पले त्यो सुन्दर भएको भन्दै मेडल तत्कालै लगाए ।

सुनका लागि ट्रम्पले मरिहत्ते गर्ने गरेको कुरा थाहा पाएर दक्षिण कोरियाले यसको व्यवस्था गरेको थियो ।

तर, दक्षिण कोरियाका जनताले ट्रम्पको विरोध गरेका छन् । उनीहरूले राजा चाहिँदैन अर्थात् नो किंग्स र ट्रम्पलाई स्वागत छैन अर्थात् ट्रम्प नट वेलकम भनी नारा लगाएका थिए ।

केही दिनअघि अमेरिकाभरि पनि नो किङ्स विरोध प्रदर्शन भएको थियो ।

दक्षिण कोरियाका नागरिक समूह, विपक्षी राजनीतिकर्मी र सर्वसाधारण ट्रम्पको छुच्चो कूटनीतिप्रति आक्रोशित छन् । उनले चर्को भन्सार शुल्क लगाएको, जबर्जस्ती अमेरिकामा लगानी गर्न लगाएको र कठोर आप्रवासी नीति अंगीकार गरेकोमा दक्षिण कोरियालीहरू रिसाएका हुन् । लीले ट्रम्पसँगको व्यापार वार्ता गरेर छुट सुरक्षित गर्ने प्रयास गरिरहेका छन् ।