जेनजी आन्दोलन बारे छानबिन गर्न प्रहरीले गठन गर्‍यो समिति

189
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन बारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले मंगलबार अपराध अनुसन्धान विभाग प्रमुख एआईजी सुशीलसिंह राठौरको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेका हुन्। समितिमा डीआइजी दीपक रेग्मी लगायत विभिन्न विभागका प्रतिनिधिहरू रहेका छन्।

समितिलाई आन्दोलनका क्रममा प्रहरीद्वारा भएको बल प्रयोग, मानवीय क्षति, कमजोरी, तथा भोलिपल्टको विध्वंसको कारणबारे विस्तृत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । साथै, प्रदर्शन नियन्त्रणका क्रममा प्रयोग हुने हतियार, रणनीति र सुरक्षा समन्वयबारे सुधार सुझाव पेस गर्न पनि भनिएको छ।

यसअघि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिसकेको छ, जसले हाल अध्ययन जारी राखेको छ।

प्रहरीका अनुसार देशभरका क्षतिको विवरण संकलनमा ढिलाइ भएकाले समिति गठनमा समय लागेको हो । भदौ २४ को हिंसात्मक प्रदर्शनमा राष्ट्रपति भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र प्रहरी कार्यालयसम्म तोडफोड र आगजनी भएका थिए।

जेन–जी आन्दोलन र त्यसपछिका घटनामा ३ प्रहरीसहित ७६ जनाको मृत्यु, २ हजार ४ सयभन्दा बढी घाइते र प्रहरीका करिब १ हजार २ सय हतियार लुटपाट भएका थिए । करिब १ लाख राउन्ड गोली हराएकोमा हालसम्म ७ सयभन्दा बढी हतियार मात्र फिर्ता गरिएको प्रहरीले जनाएको छ।