दक्षिण कोरिया पुगे ट्रम्प, उत्तर कोरियाका किमसँग नभेट्ने सम्भावना

49
Shares

एजेन्सी । एसियाली भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् ।

जापानबाट दक्षिण कोरिया पुगेका ट्रम्पलाई त्यहाँका राष्ट्रपति ली जे म्युङले न्यानो स्वागत गरेका छन् ।

म्युङले आणविक शक्तिबाट सञ्चालित पनडुब्बीका लागि इन्धन सुरक्षित गर्न अनुमति दिनका लागि अनुरोध गरेका छन् । साथै, उनले देशको सैन्य क्षमता बढाउनका लागि रक्षा खर्च बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

दक्षिणपूर्वी शहर ग्योङ्जुमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेशनको शिखर सम्मेलन भइरहेको छ ।

खर्च भएको आणविक इन्धनलाई पुनः प्रशोधन गर्न र युरेनियम संवर्धन गर्नका लागि दक्षिण कोरियाप्रति अमेरिका लचिलो बनोस् भन्ने म्युङको इच्छा छ । त्यसका लागि अमेरिकासँग द्विपक्षीय आणविक ऊर्जा सहमति गर्न दक्षिण कोरिया लालायित छ ।

फरक प्रसंगमा ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटघाट हुने सम्भावना नरहेको संकेत दिएका छन् ।

दक्षिण कोरिया पुगेको बेलामा सीमाक्षेत्रमा किमसँग पनि ट्रम्पले भेट्न सक्ने अडकल गरिएको थियो ।

शिखर सम्मेलनअघि ट्रम्पले भने, ‘म किम जोङ उनलाई राम्ररी चिन्छु । हामी दुईबीच सुमधुर सम्बन्ध छ । तर, भेटघाटका लागि हामीले समय मिलाउन सकेनौं ।’

किमलाई भेटेर ट्रम्पले उत्तर कोरियाको आणविक हतियारका विषयमा व्यक्तिगत कूटनीतिक वार्ता गर्न सक्ने अनुमान कतिपयले गरेका थिए । तर, त्यसको सम्भावना नरहेको देखिएको छ ।