
काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)ले यस वर्षको नेपाल प्रिमियर लिगको लाइभ फिड प्रोडक्सनको ठेक्का प्रतिस्पर्धामार्फत् दिने भएको छ । पहिलो सिजन प्रतिस्पर्धाबिनै भारती कम्पनीलाई जिम्मा दिँदा विवादमा परेपछि क्यानले यसवर्ष नयाँ जुक्ति लगाएको हो ।
क्यानले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का खेलहरूको प्रत्यक्ष प्रसारण उत्पादन (लाइभ फिड प्रोडक्सन) का लागि इच्छुक कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ । संघले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्य कम्पनीहरूलाई बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो ।
गतवर्ष क्यानले प्रतिस्पर्धाबिनै ब्रान्ड लजिक र भारतीय कम्पनी टीसीएम स्पोर्टसलाई लाइभ फिड प्रोडक्सन र प्रसारणको जिम्मेवारी दिएको थियो । सो क्रममा आर्थिक अनियमितता भएको आरोप क्यानलाई लागेको थियो भने क्यान सचिव पारस खड्का पनि विवादमा मुछिएका थिए ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा भएको अनियमितताको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र युवा तथा खेलकुद मन्त्रालयसम्म पुगेको थियो ।
क्यानले जारी गरेको सूचनाअनुसार यस वर्षको एनपीएलमा लाइभ फिड उत्पादन गर्न चाहने इच्छुक कम्पनीले १० हजार रुपैयाँ शुल्क तिरेर क्यानको मूलपानीस्थित कार्यालयबाट बोलपत्र फारम खरिद गर्न सक्नेछन् । फाराम खरिद गर्ने अन्तिम मिति २०२५ नोभेम्बर ३ तोकिएको छ । फाराम लिन कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र लिखित निवेदन अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्ने अन्तिम मिति नोभेम्बर ४ दिउँसो १२ बजे तोकिएको छ । प्रत्येक बोलपत्रसँग न्यूनतम नौ लाख रुपैयाँ बराबरको जमानत (बिड सेक्युरिटी) संलग्न गर्नुपर्नेछ।
प्राप्त सबै बोलपत्रहरू सोही दिन दिउँसो २ बजे क्यानको मूलपानीस्थित कार्यालयमा बोलपत्रदाता वा तिनका प्रतिनिधिहरूको उपस्थितिमा सार्वजनिक रूपमा खोलिनेछ ।
विवादका बीच खड्काले टीसीएमको नेपालमा दर्ता भएको स्थानीय कम्पनीसँग सहकार्य गरेको बताएका थिए । टीसीएमको पृष्ठभूमि हेर्दा उनीहरूले बीसीसीआई, आईपीएल र विश्वकपजस्ता ठूला प्रतियोगितामा काम गरेको र एनपीएललाई स्टार स्पोर्ट्समा विश्वस्तरीय रूपमा प्रस्तुत गर्न उनीहरूको विशेषज्ञता आवश्यक रहेको खड्काको दाबी थियो । विदेशी कम्पनीसँग सोझै सम्झौता गर्न नमिल्ने भएकाले क्यानले नेपालमा दर्ता भएको स्थानीय कम्पनीमार्फत सहकार्य गरेको बताइएको छ ।
एनपीएलको कमर्सियल राइट्स ब्रान्ड लजिक ब्रान्ड लजिकसँग थियो । विश्वव्यापी प्लेटफर्ममा उपस्थिति देखाउन र विज्ञापनलगायतका काम गर्न लाइभ फिड आवश्यक रहन्छ । क्यानले यस वर्षको एनपीएल पनि भारतीय च्यानल स्टार स्पोर्टसमा प्रशारण गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया