
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सरकारी सुरक्षाविहीन बनेका छन्।
पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको हो। नेपालका निजी सुरक्षा अधिकृत (पीएसओ) सहित सबै सुरक्षाकर्मी हिजोबाट फिर्ता भएका हुन् ।
यसअघि सरकारले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाकर्मी घटाउने निर्णय गरेको थियो । सरकारी मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका उनीहरूबाट अतिरिक्त सुरक्षा फिर्ता लिने निर्णय भएको थियो । त्यपछि पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहालको सुरक्षामा खटिएका बढी सुरक्षाकर्मी फिर्ता भएका थिए ।
आजबाट सुरु भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै सहभागी भएका हुन् । मिराकल भेन्युमा सुरु भएको बैठक कार्तिक १४ गतेसम्म चल्नेछ ।
बैठकस्थलमा अध्यक्ष नेपाल सुरक्षाविनै पुगका थिए । हाल उनीविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर उनी यसअघि रिहा भएका थिए ।










प्रतिक्रिया