
काठमाडौं । नेकपा (एमाले) का पूर्वसांसद समेत रहेका व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।
प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा भट्टचन पक्राउ परेका उनको भनाइ छ ।
प्रभु रेमिट्यान्स र सहकारी संस्थाको रकम प्रभु ग्रुपमार्फत हिनामिना गरिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
‘भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रालि बाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरेको भनी देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट उजुरी परेकोबारे अनुसन्धान भएको र काठमाडौं जिल्ला अदालतबाटसमेत पक्राउ पुर्जी जारी भएपछि उनी पक्राउ परका हुन्,’ श्रेष्ठले भनेका छन् ।
ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भट्टचनले सत्ता र शक्तिको आडमा लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी गरी बसेको प्रहरीको भनाइ छ ।
पूर्वसांसद तथा प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष (प्रभु ग्रुपका सञ्चालक) देवी प्रकाश भट्टचनको प्रभु मनि ट्रान्सफर प्रालिले रेमिट कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएको थियो । त्यसमार्फत् विदेशमा बसेका नेपालीहरुले नेपालका विकट गाउँहरुमा आफ्ना आफन्तलाई सहज रुपमा नजिकैको स्थान विशेषबाट छरिएका सहकारीमार्फत् विप्रेषण बापतको रकम भुक्तानी गराउनको लागि मिति २०६९पुस १ गते प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनि ट्रान्फर प्रालि. बीचको करार सम्झौता हुँदाका बखत दुवै कम्पनीका मुख्य सञ्चालक भट्टचन रहेका थिए ।
प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी उक्त प्रभु म्यानेजमेन्ट प्रालिका तर्फबाट तत्कालिन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरू मार्फत् विप्रेषणको कारोबार गर्ने सम्झौता गरेको पाइन्छ।
२०७९ माघ १३ गतेदेखि प्रचलनमा आएको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावलीको बुँदा नं. ९ मा कम्पनीले भित्र्याउने (इनवार्ड रेमिट्यान्स) कार्य गरी आफैं वा आफूद्वारा नियुक्त सब-एजेण्ट वा सब-रिप्रेजेन्टेटिभ मार्फत सम्बन्धित व्यक्ति (बेनिफिसरी) लाई भुक्तानी गर्नु पर्नेछ भन्ने व्यवस्थाको विपरीत कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।
विनियामली विपरित प्रभु म्यानेजमेन्ट प्रालिको सबएजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्ति (बेनिफिसरी) लाई विप्रेषण बापतको रकम भुक्तानी गरेको तर प्रभु मनि ट्रान्फर प्रालिका अध्यक्ष भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रालिबाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरे पाइएको प्रहरीको भनाइ छ ।
देशभरका ३ दर्जनभन्दा बढी सहकारी संस्थाबाट परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनी कसुरदार देखिएको र उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएकोले व्यूरोबाट खटिएको प्रहरी टोलीले मंगलबार ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ टीकेलबाट ६२ वर्षीया देवीप्रकाश भट्टचनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया