जल तथा मौसम विज्ञान विभागले भन्योः ३ प्रदेश भारी वर्षा र हिमपातको सम्भावना छ, सतर्क रहनु

1k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म ३ वटा प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। बागमती, कोशी र मधेश प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै विभागले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले २ दिनसम्म देशमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। चक्रवातको प्रभाव मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र विस्तारै कमजोर हुँदै उत्तर उत्तर–पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू–भाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ।

१३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा उल्लेख छ। उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उनले बताए।

साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको उनले बताए।

उक्त अवधिमा देशका बागमती, कमला, कोशी र कन्काई नदी तथा यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे हुँदै बहने स–साना नदी–नालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको जनाएको छ।

विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली; मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी; र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला हुँदै बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने विभागले जनाएको छ।

सम्भावित वर्षा र हिमपातका कारण नदीनालाहरूमा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले विभागले चेतावनी दिएको छ। यस अवधिमा यात्रा नगर्न र धान नकाट्न समेत विभागले सुझाव दिएको छ। साथै तराईका डुबान पर्ने क्षेत्रहरूमा धान जोगाउने वैकल्पिक उपाय अपनाउन समेत मौसमविद्हरूले बताएका छन्।