सुस्त अर्थतन्त्रमा जेनजी आन्दोलनको प्रभाव: घरजग्गा कारोबार झनै सुस्तायो

224
Shares

काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताका बीच गत भदौमा भएको जेनजी आन्दोलनले घरजग्गाको कारोबारमा झनै सुस्तता देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घरजग्गाको कारोबार झनै ओराला लागेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

जेनजी आन्दोलनले धेरै ठाउँमा मालपोत र नापी कार्यालयमा तथा आगजनी तोडफोड समेत भएका कारण पनि घरजग्गा कारोबारमा थप धक्का लागेको छ । आन्दोलनले केही सुधार देखिँदै गरेको आर्थिक गतिविधिमा समेत ठूलो धक्का लाग्दा घरजग्गा कारोबार झनै घटेको हो ।

गत आर्थिक वर्षको चुलनामा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा घरजग्गाको कारोबार (लिखत पारित) २३.०४ प्रतिशले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । त्यस्तै घरजग्गाको कारोबार गर्दा लाग्ने रजिस्टेसन दस्तुर, पुँजीगत लाभकर लगायतका मालपोत कर पनि ८.१८ प्रतिशतले घटेको देखिन्छ ।

गत आर्थिक वर्षको साउनदेखि असोजसम्म १ लाख ७ हजार १६० वटा लिखत पारित भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा २३.०४ प्रतिशतले घटेर ८२ हजार ४६८ मा सीमित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । यस्तै राजस्व संकलन पनि घटेको छ । गत आर्थिक वर्षको ३ महिनामा १० अर्ब ६६ लाख रुपैयाँ राजस्व संकलन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ९ अर्ब १८ करोड १४ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको विभागको तथ्यांक छ ।

साउनमा ३१ हजार ६२१ लिखत पारित भएकामा भदौ २३ र २३ को जेनजी आन्दोलनपछि भदौ र असोजमा नै लिखत पारित घटेको तथ्यांकले देखाउँछ । भदौमा २७ हजार ४९४ र असोजमा अझै कम २३ हजार ३५३ मात्रै लिखत पारित भएको छ । जेनजी आन्दोलनले नापी र मालपोत कार्यालयहरुमा क्षति पुगेको र दशैं पनि परेका कारण असोजमा लिखत पारित अझै घटेको हो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा लिखत पारित २७.८६ प्रतिशत, भदौमा १६.१७ प्रतिशत र असोजमा २३.५० प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

राजस्व संकलन भने साउन र असोजमा घटेपनि भदौमा भने सामान्य बढेको छ । साउनमा राजस्व संकलन १४.२४ प्रतिशतले घटेर ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँमा सीमित हुँदा भदौमा १.६३ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ७ लाख र असोजमा १०.४७ प्रतिशतले घटेर २ अर्ब ७५ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।

असोजमा २ अर्ब ७५ करोड राजस्व संकलन हुँदा सेवा कर २१ करोड ३० लाख ७५ हजार रुपैयाँ, रजिस्ट्रेसन दस्तुर १ अर्ब ४४ करोड १६ लाख ८८ हजार, पुँजीगत लाभकर १ अर्ब ६ करोड १९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

असोजमा सबैभन्दा धेरै राजस्व भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा संकलन भएको छ । उक्त कार्यालयबाट ३६ करोड ११ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लिबजार, काठमाडौंबाट ३४ करोड ७३ लाख ९३ हजार राजस्व संकलन हुँदा मालपोत कार्यालय चाबहिल, काठमाडौंबाट २७ करोड ४२ लाख ९६ हजार रुपैयाँ र भक्तपुर मालपोत कार्यालयबाट २७ करोड ३४ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै काठमाडौंको साँखु मालपोतबाट ८ करोड ५६ लाख ७१ हजार, सुनसरीको इनरुवा मालपोतबाट ८ करोड १० लाख ७२ हजार रुपैयाँ र पर्सा मालपोत कार्यालयबाट ६ करोड ८१ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

लिखत पारितमा विगतका महिनामा जस्तै असोजमा पनि सुनसरीको इनरुवा मालपोत कार्यालय अगाडि देखिएको छ । इनरुवा मालपोतबाट १ हजार २५२ लिखत पारित हुँदा धनुषाको जनकपुरधाम मालपोतबाट ९९७, मोरङको बेलबारी मालपोतबाट ८९१, झापाको भद्रपुर मालपोतबाट ७५३, सप्तरीको राजविराज मालपोतबाट ७३४ लिखत पारित भएको छ । त्यस्तै भक्तपुर मालपोतबाट ७३३, ललितपुरको लगनखेत मालपोतबाट ६९७ र सर्लाहीको मलंगवा मालपोतमा ६१० लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।