
काठमाडौं । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) कम्पनी फ्यूज मेसिन अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा औपचारिक रूपमा सूचीकृत भई कारोबार सुरु गरेको छ ।
एन्टरप्राइज एआई सोलुसन्समा विश्वव्यापी अग्रणी फ्यूज मेसिनको साधारण सेयरको कारोबार नास्डाक स्टक मार्केटमा ‘FUSE’ सिम्बोल अन्तर्गत विहीबारदेखि सुरु भएको हो । यो उपलब्धिसँगै फ्यूज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ ।
कम्पनीले यो उपलब्धिलाई ‘सबैका लागि एआईलाई लोकतान्त्रिक बनाउने’ आफ्नो मिशनको नयाँ अध्यायको रूपमा व्याख्या गरेको छ । कम्पनीका अनुसार, सार्वजनिक सूचीकरणले विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको एआई सोलुसन्सको माग पूरा गर्न र प्रविधिको पहुँच विस्तार गर्न मद्दत गर्नेछ ।
फ्यूज मेसिनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. समीर मास्केले नास्डाक सूचीकरणलाई ऐतिहासिक उपलब्धि बताएका छन् । ‘
सानो, मिशन–प्रेरित टोलीबाट सुरु गरी नास्डाकमा सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी बन्नु हाम्रो नवप्रवर्तन र कार्यसम्पादनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो । यो सूचीकरण हाम्रो अर्को यात्राको सुरुवात हो-जुन अनुशासित वृद्धि, रणनीतिक लगानी र हाम्रा सेयरधनीहरूका लागि दिगो मूल्य सिर्जनामा केन्द्रित हुनेछ,’ उनले ग्लोबल न्यूजवायरसँग भनेका छन्।
सन् २०१३ मा स्थापना गरिएको फ्यूज मेसिनले हाल उत्तरी अमेरिका, एशिया (नेपाल, डोमिनिकन रिपब्लिक लगायत) र ल्याटिन अमेरिका मा कार्यालयहरू स्थापना गरी स्वास्थ्य सेवा, वित्त, खुद्रा, उत्पादन र सरकारी क्षेत्रहरूमा एआई समाधान प्रदान गर्दै आएको छ।
कम्पनीले सूचीकरण प्रक्रियाअन्तर्गत मर्जर सम्झौतामार्फत लगानी प्राप्त गरेको हो। उक्त लगानीबाट प्राप्त रकम कम्पनीको ब्यालेन्स सिट सुदृढ गर्न, उत्पादन नवप्रवर्तन, ग्राहक विस्तार, र बिक्री तथा मार्केटिङमा रणनीतिक लगानी गर्न प्रयोग गरिनेछ।
काठमाडौंमा जन्मिएका र कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर समेत रहेका डा. मास्केले नास्डाक सूचीकरणलाई नेपाली मूलका उद्यमीका लागि पनि ऐतिहासिक सफलता भएको बताएका छन् । उनका अनुसार, फ्यूज मेसिनको यो उपलब्धिले नेपाली उद्यमशीलताको क्षमतालाई विश्व बजारमा नयाँ पहिचान दिलाएको छ।
फ्यूजमेसिन्स कस्तो कम्पनी ?
सन् २०१३ मा स्थापित फ्यूजमेसिन्स सबैका लागि कृत्रिम बौद्धिकता (एआई) सुलभ बनाउने मिशनसहित एआई उत्पाद र सेवाहरू प्रदान गर्ने एक विश्वव्यापी कम्पनी हो । आफ्नै विकसित एआई स्टुडियो र एआई इन्जिनको उपयोग गर्दै, कम्पनीले आफ्ना ग्राहकहरूलाई तिनीहरूको डिजिटल एआई यात्राको जुनसुकै चरणमा रहे पनि एआई इन्टरप्राइजेट ट्रान्सफरमेसन अर्थात् एआई–आधारित व्यवसायिक रूपान्तरणमा सहयोग पुर्याउँछ।
उत्तरी अमेरिका, एशिया र ल्याटिन अमेरिकामा कार्यालयहरू रहेका फ्यूजमेसिन्सले विभिन्न आकारका संस्थाहरूलाई एआई लागू गर्न र विस्तार गर्न सक्षम बनाउने एंटरप्राइज एआई सेवाहरू र विशेष परामर्श सेवाहरूको विस्तृत शृंखला प्रदान गर्छ।
फ्यूजमेसिन्सले स्वास्थ्य सेवा, वित्त, खुद्रा व्यापार, उत्पादन र सरकारी क्षेत्र लगायतका उद्योगहरूमा रहेका कम्पनीहरूलाई एआई समाधान उपलब्ध गराइरहेको छ।










प्रतिक्रिया