काठमाडौंदेखि धनगढी, बाटोभरी हिमालै हिमाल (तस्बिरहरू)

434
Shares

काठमाडौं । सफा मौसममा काठमाडौंदेखि धनगढीको हवाई यात्रा गर्नु भनेको केबल बाटो काट्नु मात्र होइन, हिमालको एक भव्य ग्यालरी अवलोकन गर्नु पनि हो ।

काठमाडौं उपत्यका वरिपरिबाट उत्तरतिर हेर्दा, गणेश हिमाल र लाङटाङ श्रृङ्खलाका चुचुराहरूले हामीलाई बिदाइ गर्छन् । यी हिमाल यति नजिक र स्पष्ट देखिन्छन् कि मानौं कसैले सेतो हिउँको ठूलो चित्रकला हाम्रो सामुन्ने टाँगिदिएको छ ।

पश्चिमतिर अघि बढ्दै जाँदा, मध्य नेपालको विशाल दृश्य खुल्छ । आठ हजार मिटरको विशाल मनास्लु हिमाल आफ्नो वरपरका हिमालचुली र ङादी चुली सँगै आकाशलाई नै छोला जस्तो गरी उभिएको छ ।

यसपछि यात्राको सबैभन्दा मोहक खण्ड आउँछ: अन्नपूर्ण श्रृङ्खला । माछापुच्छ्रेको धारिलो चुचुरो, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका विशाल कायाहरूले हाम्रो आँखालाई चकित पार्छन् । सफा मौसममा, सूर्यको किरण पर्दा यी चुचुराहरू चादिजस्तै टल्किन्छन् र त्यो सौन्दर्यले मुटुलाई नै छोएर जान्छ ।

अझ पश्चिम लागेपछि देखिने धौलागिरिको विशाल भव्यता र यसको सेतो चम्किलो रूपले यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ । कहिलेकाहीँ त, धौलागिरिभन्दा परको अपि र सैपाल जस्ता सुदूरपश्चिमका हिमालहरूको छायाँ मात्र देखिनु पनि निकै रोमाञ्चक हुन्छ ।

धनगढी पुग्दा नपुग्दै यी हिमाली दृश्यले शान्ति र मनमा खुशीको तरङ्ग उत्पन्न गराइसक्छन् ।

शब्द/तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी